इटहरी : इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकलाल चौधरीमाथि लागेका विभिन्न आरोप र उठेका प्रश्नहरुको छानविन गरी कारवाही गर्न नेकपा कम्युनिष्ट पार्टि (नेकपा) नगर कमिटि सदस्यहरुले माग गरेका छन् ।
सात जना सदस्यहरुले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्रमा उनीहरुले चौधरीको चरित्रमाथि नै प्रश्नचिन्ह खडा हुने गरी आएका हल्ला, समाचार, फोन संवादहरुको सत्यताबारे छानविन गरी दोषी भए कारवाही गर्न माग गरिएको छ ।
उक्त विग्यप्तीमा भनिएको छ, व्यक्ति पार्टीभन्दा माथि नहुने जिकिर गर्दै पत्रमा भनिएको छ, ‘पार्टीमा आबद्ध जोसुकै नेतृत्व वा कार्यकर्ताले गल्ती गरेमा कारवाही, दण्ड सजाय र कसैलाई फँसाएर निमिट्यान्न पार्न चाहन्छ भने पनि कारण पत्ता लगाई विवादित विषयमा छानविन गरी आवश्यक कारवाही गर्न माग गर्दछौं ।’
उनीहरुले गलत गर्ने नेता, कार्यकर्ता जोसुकैलाई कारवाही गरी पार्टीको गुमेको शाख फिर्ता ल्याउनसमेत नगर कमिटिसमक्ष माग गरेका छन् । मेयर चौधरी गलत नभए गलत हल्ला फैलाउनेलाई कारवाही गर्न माग गरिएको छ ।
‘नेता, कार्यकर्ताहरुले शिर ठाडो पारी गर्वका साथ छाति फुलाएर नेतृत्वको प्रसंशा गर्ने वातावरण मिलाउन उपमहानगर कमिटिले भुमिका खेल्ने विश्वास गरेका छौं,’ पत्रमा भनिएको छ ।
विज्ञप्तीमा नेकपा इटहरी नगरकमिटि सदस्यहरु मन्दिरा भट्टराई, अरुण गुरुङ, फणिन्द्रबहादुर मगर, रञ्जु सिग्देल, डिल्लीप्रसाद आचार्य, शान्ती गजमेर, टंकमणि नेपाल द्धारा हस्ताक्षर गरिएको छ ।
यता नगर कमिटिका जिम्मेवार पदाधिकारीहरु तथा नेकपाका नेता मेयर चौधरीलाई सम्झाउँदा थाकेको प्रतिक्रिया दिन्छन् । तथापी वैधानिक बाटोबाट कुनैपनि समस्याको हल खोज्न प्रयास भने गरिरहेको बताउँछन् ।
लकडाउनका कारण कमिटिका पदाधिकारी र सदस्यहरुको बैठक तथा भेटघाट नभएकाले उक्त पत्रमा अझै धेरै सदस्यहरुले हस्ताक्षर गर्न बाकी रहेको जनाइएको छ । ठूलो समुहमा सदस्यहरु मेयरको विषयलाई गम्भीरतापुर्वक लिन नेतृत्वलाई दबाब दिने तयारीमा रहेको बताइएको छ ।