इटहरीः आफ्नै गाउँमा प्रदेश १ भरिकै जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता आयोजना गर्न पाएपछि मख्ख थिए खोटाङ्ग जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन राई ।

तेक्वान्दोमा उर्वर भूमिको रुपमा चिनिएको खोटाङ्गको बाक्सिलामा प्रदेश नम्बर १ खेलकुद विकास बोर्डको आयोजनामा भएको तेक्वान्दो प्रतियोगिताले त्यहाँको पर्यटन मात्र नभएर साँस्कृतिक कुराको प्रचारप्रसारसमेत भएको राईको भनाइ छ ।

‘हाम्रो ठाउँमा प्रतियोगिताको आयोजना हुनु सबैभन्दा ठूलो कुरा हो । त्यति मात्र नभएर पर्यटकीय हिसाबले र विभिन्न साँस्कृतिक कुराको प्रचारप्रसारको हिसाबले एकदमै राम्रो भएको महसुस भएको छ । स्थानीय होटल व्यवसायी तथा समग्र केपिलासगढी गाउँपालिका खुसी छ ।’ राईले प्रदेश पोर्टलसँग भने ।

खेलाडीहरुका लागि जतिसक्दो धेरै खेलका प्रतियोगिताहरु सञ्चालन गर्नुपर्ने र ती प्रतियोगिताहरु पालिकाले समेत आयोजना गर्नुपर्ने राईको भनाइ थियो ।

IMG_2159

खेलकुदका क्षेत्रमा केपिलासगढी गाउँपालिका अर्थात् त्यहाँको स्थानीय सरकारले समेत सहकार्य गर्ने बताएको सुनाउँदै राईले पालिकाले तेक्वान्दो प्रतियोगितालाई समेत प्राविधिक सहयोग गरेको बताए ।

सम्पूर्ण जिल्लाबाट आएका खेलाडीहरुलाई धन्यवाद दिँदै राईले पहाडी भेगको मौसमको प्रतिकूलताका बावजुत आएर खेल सम्पन्न गर्न सहयोग गरेकोमा प्रशंसा गरे । साथै उनले आगामी दिनहरुमा योभन्दा राम्रो गरेर स्वागत गर्ने मौका दिन पनि आग्रह गरे ।

जिल्लामा रहेका जिल्लास्तरीय तथा प्रदेशस्तरीय प्रतियोगितामा भाग लिएका खेलाडीलाई खोटाङ्ग जिल्ला खेलकुद विकास समितिको तर्फबाट सम्मान गर्ने कार्यक्रमसमेत रहेको अध्यक्ष राईले बताए ।

आफ्नो जिल्लामा प्रतियोगिता आयोजना हुँदा खोटाङ्ग जिल्ला तेक्वान्दो संघका उपाध्यक्ष लक्ष्मण राईसमेत निकै उत्साहित देखिन्थे ।

IMG_1985

खेलमा पनि विशेषगरी मार्सल आर्टमा खोटाङ्गले आफ्नै पहिचान बनाएको बताउँदै राईले तेक्वान्दोमा राजकुमार राई तथा कराँतेका सँस्थापक थानेश्वर राईले खोटाङ्गको नाम चिनाएको बताए । आफ्नो ठाउँमा तेक्वान्दोको जिल्लास्तरीय प्रतियोगिता आयोजना हुँदा यहाँका खेलाडीलाई हौसला मिल्ने पनि उनले बताए ।

उता, केपिलासगढी गाउँपालिकाका अध्यक्ष समीर राईले समेत खेलकुदको विकासमा स्थानीय सरकार संवेदनशील रहेको बताउँदै प्रदेशभरिका खेलाडीलाई केपिलासगढीको बाक्सिलामा स्वागत गर्न पाउँदा खुसी लागेको बताए । स्थानीय सरकारले पनि राष्ट्रिय स्तरको खेलमा सहभागी भएका खेलाडीलाई सम्मान गर्ने कार्यक्रम ल्याउने गाउँपालिका अध्यक्ष राईले बताए ।

IMG_1791

यस्तै, कराँतेका राष्ट्रिय खेलाडी खोटाङ्गका नवीन राईले केपिलासगढीमा जुन खेलको भएपनि प्रतिनयोगिताको आयोजना हुनु खुसीको कुरा भएको बताए । खोटाङ्ग जिल्ला कराँते र तेक्वान्दोमा अगाडि रहेको बताउने नवीन कम लगानीमा बढी प्रतिफल आउने मार्सल आर्टमा खोटाङे खेलाडीको बढी लगाव रहेको तर्क गर्छन् ।