इनरुवाः सुनसरीको इनरुवा–५ बलाहामा रहेको शारदा माविमा आज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

दशैंको अवसर पारेर पूर्व विद्यार्थीको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो ।

सङ्गीतमा पीएचडी गर्ने सो विद्यालयका पूर्व विद्यार्थी डा. रमेश पोखरेललाई सम्मानपत्र प्रदान गर्नुका साथै दोसल्ला ओढाइ सम्मान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेमराज पोखरेलले जनाए ।

\कार्यक्रममा शारदा माविको चार कोठे नयाँ भवनको समेत उद्घाटन गरिएको छ । ४ कोठामध्ये २ कोठा इनरुवा नगरपालिककाका प्रमुख राजन मेहताले र २ कोठाको प्रदेशसभाका प्रतिपक्षी दलका नेता राजीव कोइरालाले उद्घाटन गरेको प्रधानाध्यापक तीर्थराज भट्टराईले बताए ।

कार्यक्रममा अभिवक्ता मणिराज दुलाल, इनरुवा–५ का वडाध्यक्ष अन्जनी पोखरेल, नेपाली काङ्ग्रेसका जिल्ला सचिव केदार भण्डारी, नेकपाका इनरुवा ५ का अध्यक्ष मेघराज न्यौपाने लगायतले शुभकामना दिएका थिए ।