इटहरीः संखुवासभाको सिलिचोङ गाउँपालिकामा पहिरोका कारण विस्थापित भएका एक सय ६ परिवारको स्थायी व्यवस्थापन हुन नसक्दा उनीहरु पालमुनि रात बिताउन बाध्य भएका छन् ।

तीन स्थानमा प्रदेश सरकारले तयार गरिदिएको अस्थायी टहरामा बसिरहेका चप्चेवाका २० सहित एक सय ६ परिवारलाई तीन महिना बितिसक्दा पनि प्रदेश सरकारले स्थायी बासस्थानमा स्थानान्तरण गर्न सकेको छैन । पालमुनिको बास अत्यन्त कष्टकर रहेको पहिरोपीडितहरु बताउँछन् । एकातिर पानी चुहिने समस्या छ भने नजिकिएको दशैंमा समेत पालमुनी बस्नु पर्ने बाध्यताले दशैंमा आएका आफन्तलाई कहाँ राख्ने भन्ने उनीहरुको चिन्ता छ । पहिरोले आफन्त र घर खेत गुमाएको पीडासँगै तीन महिना लामो पालको बसाइले थप पीडित बनाएको उनीहरुको गुनासो छ ।

तीन महिना बितिसक्दा पनि अझैसम्म स्थायी बासको टुङ्गो नलाग्दा उनीहरु शिक्षा, स्वास्थ्य र रोजगारबाटसमेत बन्चित हुनु परेको छ । स्थानीय सरकारले आफूहरुलाई यथासिघ्र सुरक्षित स्थानमा स्थायी बासस्थानको प्रबन्ध गरिदिनुपर्ने विस्थापित धिराज राईको भनाइ छ । सिलिचोङकै बुधबारेको अस्थायी पालमुनि बसिरहेका अर्का हिरालाल राईको पिडा पनि उस्तै छ । २९ घर परिवारका करिव १ सय ४० जना भन्दा बढि भएकाले एक परिवार एक पालमुनी कष्टकर रुपले बसे पनि खानपान र शौचालय लगायतका धेरै समस्या भोग्नु परिरहेको उनको गुनासो छ ।

उनीहरुलाई स्थायी पुर्नबासका लागी गाउँपालिकाले उपयूक्त जग्गा खोजी गरिरहेको सिलिचोङ गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङले बताए । सरकारी उदासिनताका कारण नागरिकले सास्ति व्यहोर्नुपर्ने परिपाटीको अन्त्यका लागि प्रदेश र स्थानीय दुवै सरकार समस्याप्रति गम्भीर हुनु आवश्यक छ ।