इटहरीः मोरङको विराटनगरस्थित १ नम्बर प्रदेश श्रम कार्यालयले निजी विद्यालयहरुलाई शिक्षकले पाउनुपर्ने तलब सुविधा लगायतका बक्यौता तत्काल भुक्तान गर्न निजी विद्यालयहरुलाई निर्देशन दिएको छ ।

पीडित शिक्षकहरुले गत कात्तिक २ गते तलब भुक्तानी दिलाइदिन माग गर्दै कार्यालयमा उजुरी दिएपछि कार्यालयले तलब भुक्तानी दिन विद्यालयलाई निर्देशन दिएको हो । कार्यालयका प्रमुख वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलका अनुसार तलब भुक्तान नगर्ने विद्यालयहरुको बैँक खाता रोक्का गरी सञ्चालक तथा पदाधिकारीउपर नियमानुसार कारबाही गरिने छ । कार्यालयले दिएको निर्देशनमा श्रम ऐन २०७४ तथा श्रम नियमावली २०७५ ले तोकेको सम्पर्ण सेवा सुविधाहरु तुरुन्त उपलब्ध गराउन भनिएको छ ।

यसैबीच, निजी विद्यालयबाट तलब रोकिएका शिक्षकहरुले संस्थागत विद्यालयहरुको छाता संगठन प्याब्सन मोरङको कार्यालयमा ताला लगाएका छन् । संस्थागत विद्यालय शिक्षक युनियन मोरङका अध्यक्ष मनोज खनालका अनुसार लामो समयदेखि निजी विद्यालयहरुले तलब भुक्तानीमा चासो नदिएपछि संगठनले कानूनी प्रकृया सुरु गर्नुका साथै तालाबन्दीसमेत गरेको हो ।

समस्यामा परेका शिक्षकहरुलाई अपमानित गर्नेगरी प्याब्सनले सर्कुलर जारी गरेको संगठनको आरोप छ । गत वर्षको बाँकी बक्यौतासहित २०७७ वैशाखदेखि असोज महिनासम्मको खाइपाई आएको तलब, भत्ता र दसैँ पेस्की लगायतका सम्पूर्ण बक्यौता भुक्तान हुनुपर्ने माग गर्दै शिक्षकहरु श्रम कार्यालय पुगेपछि कार्यालयले कानूनी उपचार सुरु गरेको हो ।