नवलपरासीः भारतको गाजियावादमा अलपत्र परेका १८ जना नेपाली बालकलाई उद्दार गरी नेपाल फर्काइएको छ ।
आफन्त नेपाल भन्ने संस्थाले भारतीय प्रहरीको समन्वयमा ती बालकलाई उद्दार गरी नेपाल फर्काइएको हो । उद्दार गरिएका ती बालक नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिका र हुप्सेकोट गाउँपालिकाका छन् । वैदेशिक रोजगारीका लागि भन्दै भारत पु¥याइएका ती बालकलाई उद्दार गरेर मंगलबार अभिभावकको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रकाश मल्लले जानकारी दिए ।
उनका अनुसार रोजगारीका लागि लगिएका ती बालकलाई भारतको गाजियावादबाट उद्दार गरेर भारतीय प्रहरीले सुनौली नाका हुँदै नेपाल ल्याएर रुपन्देही प्रहरीलाई बुझाएको हो । उद्दार गरिएका बालक १४ देखि १८ वर्ष उमेर समूहका छन् । उनीहरुलाई भारत लैजाने चारजना व्यक्तिलाई समेत पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।(रासस)