इटहरीः कम्युनिष्ट सरकार जनउत्तरदायित्वबाट विमुख भएको भन्दै नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी सरकारविरुद्ध संघर्षमा उत्रने भएको छ ।
कोरोना महामारीका बीच जनताको जिउधनको सुरक्षा र उपचार प्रवाह नगरेर राज्यशक्तिको दुरुपयोग गर्दै सरकारले भ्रष्टाचारलाई प्रोत्साहन गरको भन्दै विप्लव समूहले आज विज्ञप्ति जारी कात्तिक १५ देखि २० गतेसम्म सरकारविरुद्ध कडा संघर्ष गर्ने जानकारी दिएको हो । समूहद्वारा जारी विज्ञप्तिमा उल्लेख भए अनुसार कात्तिक १५ गते कोणसभा गर्ने, १७ गते पर्चा वितरण गर्ने र २० गते विरोध जुलुस निकाल्ने कार्यक्रम तय भएको छ ।
कोरोना संक्रमितको पहिचान र उपचार निःशुल्क गर्न माग गर्दै पार्टी महासचिव नेत्रविक्रम चन्द (विप्लव) द्वारा जारी विज्ञप्तिमा ‘सरकार उत्तरदायित्व विहीन र हदैसम्म गैरजिम्मेवार बनिरहेको छ। सरकारको यस किसिमको क्रियाकलापले नेपालका राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयहरू दिन–प्रतिदिन अझ जटिल र सङ्कटपूर्ण बन्दै गइरहेका छन्।’ भनी उल्लेख छ । सो पार्टीले स्वास्थ्य परीक्षणको आधारभूत दायित्वबाट पन्छिने वर्तमान सरकारको कदमलाई निकृष्ठ र अमानवीय व्यवहारको संज्ञा दिएको छ ।