इटहरीः मोरङको विराटनगरस्थित भारतीय सीमावर्ति क्षेत्रमा रहेको विराटनगर जुट मिल अवैध सामान निकासी पैठारीको हब बन्न थालेपछि प्रहरीले निगरानी बढाएको छ ।

यसै क्रममा प्रहरीले मिलको जिर्ण भवनहरुमा रहेका भारतीय सीमातर्फका खुला झ्यालबाट तस्करी बढको भन्दै तारजाली लगाएर झ्याल बन्द गरिदिएको छ । नेपाल भारत सीमाको दशगजा नजिकै रहेका मिलका ३५ ओटा आवासीय भवनमा रहेका खुला झ्यालबाट हुने गरेको तस्करी रोक्न तारजाली प्रयोग गरी झ्याल बन्द गरिएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाले बताए । झ्यालबाट निस्केपछि भारतीय बजार जोगबनीको टिकुलिया बस्ती पुगिने भएकाले सोही माध्यमबाट तस्करी हुने गरेको उनको भनाइ छ । ती झ्यालबाट मदिरा, मटर, सुपारी, मरिचलगायतका सामान भारततर्फ अवैध निकासी र कपडा, ब्रोइलर कुखुरा, दैनिक उपभोग्य सामग्रीलगायतको अवैध पैठारी हुने गरेको स्थानीयको भनाइ छ ।

तस्करी नियन्त्रणका लागि आवासीय भवनमा बस्ने मानिसलाई सचेत गराई झ्याल बन्द गरिएको बताउँदै प्रहरी निरीक्षक थापाले अटेर गरी झ्याल खोल्नेलाई कारबाही गरिने बताए । मोरङ प्रहरीले तस्करी, लागूऔषध, साना हतियार एवम् अवैध गतिविधि र सीमा अपराध नियन्त्रण गर्न नेपाल–भारत सीमा क्षेत्रमा विशेष ढंगको ‘स्वीप अप्रेसन’ चलाएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख सन्तोष खड्काले बताए । उनका अनुसार अप्रेसन सुरु भएको १० दिनको अवधिमा ३० जना व्यक्तिलाई नियन्त्रणमा लिई सचेत गराई छोडिएको छ । कोरोना महामारीका कारण सीमा नाका सील हुँदासमेत तस्करी नरोकिएपछि अप्रेसन चलाउनु परेको उनको भनाइ छ ।