इटहरीः मोरङको विराटनगरस्थित रानी भन्सारसँग जोडिएको भारतीय बजार जोगबनीमा आज बिहीबार बिहान अन्दाजी २५ वर्षीय नेपाली युवकको बेवारिसे शव फेला परेको छ ।
इलाका प्रहरी कार्यालय रानीका प्रमुख प्रहरी निरीक्षक दीपक थापाका अनुसार नाक र मुखबाट रगत बगेको तथा शरिरमा निलडाम रहेको अवस्थामा फेला परेको शवको पहिचान खुल्न सकेको छैन । शवको प्रकृतिका आधारमा युवकको हत्या भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । दशगजा नजिकैको भारतीय क्षेत्रमा रहेको घटनास्थल विराटनगर महानगरपालिका १६ मा पर्ने दक्षिण गेटबाट एक सय मिटरको दूरीमा अवस्थित छ ।
भारतको जोगवनी बजार नजिकै अन्दाजी २५र२६ वर्षीय एक नेपाली युवाको शव बिहीबार बिहान भेटिएको छ । स्थानीयले नाम यकिन गर्न नसकेपनि मृतक युवालाई सुनसरीको इटहरीबाट लागूऔषध सेवनका लागि आउने व्यक्तिका रुपमा पहिचान गरेको प्रहरीको भनाइ छ । प्रनि थापाले आफन्त र परिवारका कोही पनि सदस्य सम्पर्कमा आइनसकेकाले मृतकको पहिचान हुन नसकेको बताए । शवको प्रकृतिका कारण हत्या वा लागूऔषध सेवनबाट मृत्यु भएको प्रष्ट हुन नसकेको उनको भनाइ छ ।
सेतो जुत्ता, निलो रंगको जिन्स पेन्ट र गाडा निलो रंगको सर्ट लगाएका मृतकको दुवै हातमा ट्याटु खोपिएको पाइएको निरीक्षक थापाले बताए । उनका अनुसार भारतीय भूमिमा शव भेटिएकाले शवको पोष्टमार्टम तथा अनुसन्धान भारतीय प्रहरीले गर्ने भएकाले नेपाली पक्षले अनुसन्धानमा सहयोग गर्ने भएको छ ।