इटहरीः ताप्लेजुङको सिरिजंगा गाउँपालिका–७ स्थित खेवाङमा माटोको ढिस्कोसँगै खसेको ढुङ्गाले लागेर एक जनाको आज शुक्रबार ज्यान गएको छ ।
मृत्यु हुनेमा भारतको सिक्किम घर भई हाल साँगादिन बस्दै आएका ३० वर्षीय दीपक गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । कार्यालयका प्रहरी नायबउपरीक्षक (डीएसपी) महेन्द्रकुमार श्रेष्ठका अनुसार उनी स्थानीय इन्द्रबहादुर गुरुङको घरमा डेरा गरी बस्दै आएका थिए ।
उनले सोही ठाउँका वासु गुरुङसँग मिलेर माछा मार्ने क्रममा खोलाको भित्तामा रहेको ढिस्को खसेर ढुङ्गाले लाग्दा दीपकको घटनास्थलमै मृत्यु भएको बताए । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाई घटनाबारे विस्तृत अनुसन्धान सुरु गरेको उनको भनाइ छ ।