इटहरीः मोरङको मिक्लाजुङ गाउँपालिका १घुर्मिसेबाट हिजो बुधबार नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कम्पनी कमिसारसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा सप्तरीको सुरुङ्गा नगरपालिका २ का ३२ वर्षीय काशिनाथ घिमिरे (प्रतिक) र ईलामको चुलाचुली गाउँपालिका ६ बस्ने १८ वर्षीय विज्ञान राई (सनम) रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

स्थानीय बिजुलीप्रसाद तिम्सिनाको खाली घरमा बसिरहेका उनीहरुका साथबाट प्रहरीले भरुवा बन्दुक १ थान, विष्फोटक पदार्थ जिलेटिन ३ केजी, सुतली बम २ थान, सकेट बम १ थान, टुकी बम एक थान, इलेक्ट्रिक डेटोनेटर ३५ थान, ननइलेक्ट्रिक डेटोनेटर १८ थान, गन पाउडर र बारुद ४ बट्टा, पार्टीको दस्तावेज र अन्य बन्दोबस्तीका सामग्री बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) मानबहादुर राईले बताए ।

उनका अनुसार घिमिरे नेकपाको पूर्वी कमाण्ड मेची–कोशी ब्यूरो चौथो कम्पनीका कमिसार तथा सप्तरीका पूर्व जिल्ला सेक्रेटरी हुन् ।यसैगरी विज्ञान राई पार्टीको साधारण सदस्य रहेको प्रहरीको भनाइ छ । उनीहरुमाथि विस्तृत अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।