इटहरीः २ नम्बर प्रदेशको राजधानी जनकपुरस्थित यातायात व्यवस्था विभागको प्रादेशिक सेवा कार्यालयबाट जारी भएका लाइसेन्स हिजो बुधबार सोही कार्यालय नजिकै रहेको धान खेतमा ठूलो संख्यामा फेला परेको छ ।

धान खेतमा काम गर्न पुगेका महिलाहरुले लाइसेन्स कार्डहरु फेला पारी कार्यालयमा बुझाएपछि कार्यालयले घटनाबारे अनुसन्धान सुरु गरेको कार्यालय प्रमुख विपिनकुमार लाल कर्णले बताएका छन् । धान खेतमा लाइसेन्स भेटिएको सुनेर आफू चकित भएको उनको भनाइ छ । कर्ण भन्छन्, “कार्यालयमा रहेको कागजात जसरी निस्किए पनि कार्यालयको सुरक्षाप्रति प्रश्न उठ्नु स्वभाविक हो ।”

घटनाबारे जानकारी पाएलगत्तै कार्यालय प्रमुखको समन्वयमा आफूले लिखित रुपमै जिल्ला प्रशासन कार्यालयलाई छानबिनका लागि आग्रह गरेको कार्यालयका शाखा अधिकृत वीरेन्द्र साहको भनाइ छ । सरकारी कागजातको दुरुपयोग सम्वेदनशील विषय भएकाले छानबिनको माग गरिएको उनी बताउँछन् ।

शाखा अधिकृत साहले लिखित जिल्ला प्रशासन कार्यालयलाई लिखित रुपमा छानबिनको लागि आग्रह गरेको दाबी गरिरहँदा जिल्ला प्रशासन कार्यालय भने घटनाबारे बेखबर रहेको पाइएको छ । धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी दीपक कोइरालाले घटनाको अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालयलाई कुनै जानकारी नभएको बताएका छन् । लिखित जानकारी प्राप्त नभएपनि कार्यालयले घटनाबारे तथ्य बुझ्ने कार्य गरिरहेको उनको भनाइ छ ।