इटहरीः शनिवार मोरङको केराबारी ६ सानो रांन्चास्थित कालिज फर्मबाटमा जुवा खेलिरहेको अवस्थामा प्रदेश प्रहरीको रिजनल इन्भेष्टिगेशन टिम ‘रिट’ टोलीले ५ जनालाई पक्राउ गर्‍यो । उनीहरूको साथमा नगद ८ लाख ८९ हजार २५० रुपैयाँ बरामद भयो ।पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका कर्मचारीदेखि नेता र व्यवसायी थिए ।

जुवाको खालबाट हरि एग्रिकल्चर एन्ड लाइभ स्टक सेन्टर (कालिज फर्म) का सञ्चालक भूपेन्द्र भट्टराई, धरान १५ का अरुण केसी र शैलेश भुजेल, धरान ६ का हरि खत्री र केराबारी ६ का बोधराज मगर पक्राउ परेका थिए । जसमा हरि खत्री धरान १५ नम्बर वडा कार्यालयका जुनियर अधिकृत हुन् । यस्तै फर्म सञ्चालक भूपेन्द्र भट्टराई पानमाराका काँग्रेसका नेता हुन् ।

भट्टराई २०७४ सालको स्थानीय तह निर्वाचनमा धरान वडा नं ६ मा वडाअध्यक्ष पदमा नेपाली कांग्रेसबाट पराजित उम्मेदवार हुन् । उनले करिब डेढ बर्षदेखि केराबारीमा कालिज फर्म पनि सञ्चालन गरिरहेका थिए । बाँकी अरुण केसी, शैलेश भुजेल र बोधराज मगर व्यवसायी हुन् ।

फर्म सञ्चालक भट्टराईले दशै देखिनै जुवा खेलाउने गरेको प्रहरीलाई सूचना थियो । केराबारी क्षेत्रमा दशैको बिचमा ठुला ठुला जुवाका खेल भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीलाई जानकारी भए पनि प्रहरीले वास्ता गरेको थिएन । बेलबारी प्रहरीको मातहतमा आउने इलाका प्रहरी कार्यालय केराबारीलाई कालिज फर्ममा समूह बनाएर जुवा खेलाइने गरेको दसैँ बिचमा सूचना पुगेको स्रोत बताउँछ ।

तर प्रहरीले यी जुवा समूहसँग ‘सेटिङ’ गरेको स्रोतको दाबी छ । भट्टराईको फर्ममा केही दिन अघि धरान, इटहरी र दमक ठेगाना भएका व्यक्तिहरूको राम्रो जुवा खेल भएको बताइएको छ ।केराबारी प्रहरीलाई जुवाको सूचना पुग्दा समेत कुनै ‘एक्सन’ नलिएपछि यो सूचना रिट समूहलाई पुगेको प्रहरी स्रोत बताउँछ ।

रिट समूहले शनिवार भने बिहानैदेखि निगरानी गरी उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरू हाल जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।