उर्लाबारीः गएराति करिब सवा ८ वजेको समयमा मोरङको उर्लावारी ४ आईतवारे चौकमा अर्धनग्न अवस्थामा भेटिएको शवको पहिचान १२ घण्टा विति सक्दा हुन नसकेपछि मोरङ प्रहरीले पहिचानका लागि सहयोग गरिदिन सर्वसाधणसँग अनुरोध गरेको छ ।
गए राति करिब साव ८ वजेको समयमा उर्लावारी ४ स्थित आइतवारे चौकको बीच सडकमा अर्धनग्न अवस्थामा मृत फेला परेकी एक महिलाको के कारणले मृत्यु भएको हो भनेर प्रहरीले अहिले सम्म पहिल्याउन नसकेपछि जिल्ला प्रहरी कार्यालय मोरङका एसपी सन्तोष खडकाले सर्वसाधरण समक्ष सो अनुरोध गरेका हुन् ।
पुर्वपश्चिम राजमार्ग स्थित उर्लावारी मंगलबारे सडक खण्डको आइतवारेमा चौकमा अन्दाजी २५/ ३० वर्षकी देखिने ती महिलाको शव अर्धनग्न अवस्थामा बीच सडकमा फेला परेको प्रहरीले बतायो ।
दुर्घटना स्थल नजिकै सडक किनारदेखि तल्लोपट्टि चेंक पोईन्टमा ड्युटीमा रहेका एक सशस्त्र प्रहरीले समयमा पश्चिमबाट पूर्वतर्फ ८ -१० वटा साना सवारीका साधनहरु ताँती लागेर कटेको केही मिनेट भित्रै सो सडक खण्डमा महिला रगताम्य अवस्थामा फेला परेको तर दुर्घटनाको कुनै ध्वनी आफुले नसुनेको ती सशस्त्र प्रहरीको भनाइ छ ।
मृत महिलाको निधार र टाउको पछाडीको भागमा गहिरो चोट छ । देब्रे गालामा चोटको २ वटा कालो धब्बा देखिएको छ ।
ईलाका प्रहरी कार्यालय उर्लावारीका प्रहरी निरिक्षक उद्धव पोख्रेलले रातको समयमा पैदल यात्रा गरिरहेकी महिला दुर्घटनामा परेको हुन सक्ने बताए । उनी भन्छन्-“सडकमा महिलाको शव १० मिटर जाति घिस्रेको अवस्थामा भेटिएको हो । मृतकको साथबाट परिचय खुल्ने कुनै कुरा नभेटिएकाले उनी बेबारिसे अवस्था हिडडुल गर्ने व्याक्तिहुन की भन्ने अनुमान गरिएको छ यद्यपी हामी अनुसन्धानकै क्रममा छौ ।”यता स्थानीयले भने अर्धनग्न अवस्थामा बीच सडकमा महिलाको शव भेटिएकाले हत्या गरी कसैले फालेको हुन सक्ने आशंका गरिरहेका छन् ।