इटहरीः झापाको गौरीगञ्जस्थित इलाका प्रहरी कार्यालयमा एक ४० वर्षीया महिलाले आफूमाथि बलात्कार भएको भन्दै पीडकविरुद्ध कारबाहीका लागि इलाका प्रहरी कार्यालय गौरीगञ्जमा किटानी जाहेरी दर्ता गराएकी छन् ।
गौरीगञ्ज गाउँपालिका ४ कदमगाछी घर भएकी महिलाद्वारा दर्ता गराइएको जाहेरीमा सोही गाउँपालिका ३ स्थित गौरीगञ्ज चौकको दक्षिणतर्फ ताजपुरिया फार्मेसी सञ्चालन गरी बसेका अन्दाजी ५० वर्षीय पर्शुराम ताजपुरियामाथि जबर्जस्ति करणी अभियोगमा कारबाहीको माग गरिएको छ । पीडित महिलाकै गाउँमा बस्ने अभियुक्त ताजपुरिया जाहेरी दर्ता भएसँगै फरार भएका छन् ।
जाहेरीमा पीडित महिलाले अभियुक्तमाथि गत असोज १९ गते कानको उपचार गर्न उनले सञ्चालन गरेको मेडिकलमा जाँदा आफूलाई चेक जाँच गर्ने क्रममा योनाङ्गमा हात हाली जवरजस्ती करणी गरेको आरोप लगाएकी छन् । कात्तिक ८ गते उजुरी दर्ता भएसँगै अदालतबाट पक्राउ आदेश लिएर अभियुक्तको खोजीमा जुटेको प्रहरीले जनाएको छ । यसअधि, वडा कार्यालयमा मिलापत्रका लागि भएको छलफलका क्रममा अभियुक्त ताजपुरियाले आरोप अस्वीकार गरेका थिए ।
यसैबीच, पीडित महिलालाई उजुरी फिर्ताका लागि दबाब दिइएको निजको पारिवारिक स्रोतले बताएको छ । घटनाबारे जानकारी पाएलगत्तै स्थानीय नेपाल महिला सशक्तीकरण समूहले आज बैठक आह्वान गरेको छ । बैठकले पीडितलाई न्याय दिलाउन संघर्षका कार्यक्रम तय गर्ने जनाइएको छ ।