इटहरीः मोरङको विराटनगरस्थित रानी भन्सार नाकामा भारतबाट अवैध रुपमा भित्र्याइएका कपडा नाकामा तैनाथ सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्टका सुरक्षाकर्मीले गत शुक्रबार बरामद गरेको छ ।

रातको करिब ११ः३० बजे तस्करले नेपालतर्फ पैठारीका लागि ल्याएका तीन लाख ४० हजार चार सय ६० रुपैयाँ मूल्यका कपडा बरामद गरिएको बीओपीका सशस्त्र प्रहरी निरीक्षक मौसम पोखरेलले बताए । विराटनगर १५ स्थित सुडी बस्ति क्षेत्रबाट बरामद गरिएका कपडामा भेष्ट, स्याण्डो,लेडिज टप्सलगायत विभिन्न किसिमका कपडा रहेको उल्लेख गर्दै उनले बरामद गरिएका सबै कपडा आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको बताए ।

केही दिनअघि बिओपी रानी र बखरीबाट दुई दिनको अवधिमा १० लाख ६० हजार रुपैयाँ मूल्यका कपडा बरामद भएको थियो । विराटनगर १६ स्थित दरैयाको उखुबारी, दक्षिण गेट र इस्लामपुरबाट पछिल्लो समय कपडाको चोरी पैठारी हुने गरेको छ । रातको समयमा दरैयाको उखुबारी हुँदै रिङरोडबाट भरिया प्रयोग गरी कपडाको अवैध पैठारी हुने गरेको स्रोतको भनाइ छ ।

कपडाको तस्करीको लाइन विराटनगर १६ दरैयाबस्तीकी ‘लिबिस्टिकवाली’ भनेर चिनिने रेणुका मण्डल, सवनम खातुनलगायतको समूहले चलाउने गरेको प्रहरीले जनाएको छ । एक हजार रुपैयाँ लिएर भरियाले एक सय थानसम्म कपडा पैठारी गरिदिने गरेको प्रहरीको भनाइ छ । भन्सारी छली गरी कपडाको अवैध तस्करी गर्ने क्रम बढेपछि सबै सिमावर्ति क्षेत्रमा कडा निगरानी गर्न थालिएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले जानकारी दिए ।