उर्लाबारीः मोरङको उर्लाबारी—४ आइतबारेमा विभत्स अवस्थामा फेला परेको महिलाको शवको पहिचान खुलेको छ । सडकको बीचमा अर्धनग्न अवस्थामा भेटिएको शव झापा गाउँपालिका वडा नम्बर ७ की बर्ष २६ कि तिर्थकुमारी श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेलले बताए ।
पोख्रेलका अनुसार आइतवार साँझ ५ बजेतिर मृतकको परिवार सम्पर्कमा आएपछि शवको पहिचान खुलेको हो । टाउको, अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको तथा सडकमा रगत बगिरहेको अवस्थामा मृत श्रेष्ठको शव गएराति सवा ८ बजे तिर बच सडकमा भेटिएको थियो ।
परिवारका भनाइ उद्धृत गर्दै प्रहरीले ती महिला मानसिक रोगी रहेको र बेलाबेला घरबाट हराउने गरेको र खोजी गर्दै परिवारले घर ल्याउने गरेको थियो । श्रेष्ठको सडकमा १० मिटर जति घिसारेको र कम्मरमाथि शरीरमा भित्री कपडा मात्रै भएको अवस्थामा शनिबार राति सवा ८ बजेतिर शव भेटिएको थियो । घटनाको प्रकृति हेर्दा सवारी साधनको ठक्करबाट महिलाको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । शरीरको कपडा ठक्कर दिने सवारी साधनमै अल्झिएर गएको हुनसक्ने पोखरेलको भनाइ छ ।
महिलाको शव पोस्टमार्टमका लागि मंगलबारे अस्पतालमा राखिएको छ । ‘मृतकको आफन्त र परिवारका सदस्य सम्पर्कमा आउनुभएको छ,’ उहाँले भन्नुभयो, ‘समाचारमा सामाजिक सञ्जालमा ती महिलाको तस्बिर आएका कारण परिवार सम्पर्कमा आएपछि पहिचान गर्न सजिलो भयो ।’