इटहरीः सिमावर्ति भारतीय बजारबाट अवैध रुपमा नेपालतर्फ मालसामान पैठारी गर्ने प्रवृत्ति रोक्न एक नम्बर प्रदेश प्रहरीले सक्रियता देखाएको छ ।
चोरी तस्करी नियन्त्रणको प्रयासस्वरुप प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायबमहानिरीक्षक (डीआईजी) इश्वरबाबु कार्की सुरक्षा बलसहित आफैैँ सिमावर्ति क्षेत्रकाो अनुगमनमा निस्किएका हुन् । कार्कीको नेतृत्वमा खटिएको अनुगमन टोलीले सिमावर्ति क्षेत्रको स्थलगत निरीक्षण गर्न थालेपछि सुनसरी, मोरङ, झापा, इलामलगायतका भारतीय सिमावर्ति जिल्लामा तस्करी नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
कोरोना महामारीको मौकामा तस्करहरुले सीमा क्षेत्रमा तैनाथ सुरक्षा टोलीका इन्चार्जकै मिलेमतोमा चोरी पैठारी गर्न थालेपछि प्रहरीले नियन्त्रणका लागि कडा कदम चालेको हो । अनुगमनका क्रममा विभिन्न सुरक्षा पोष्टमा पुगेका प्रहरी नायबमहानिरीक्षक कार्कीले सीमा सुरक्षा र तस्करी नियन्त्रणका लागि प्रभावकारी काम गर्न मातहतका अधिकारीलाई निर्देशन दिएका छन् । सीमावर्ति क्षेत्रबाट हुने तस्करी तथा आपराधिक गतिविधि नियन्त्रणका लागि प्रहरीको जनशक्ति थप गरी सुरक्षा व्यवस्था मिलाइएको उनको भनाइ छ ।