इटहरीः सुनसरीको धरान १५ मा गएराति झुन्डिएको अवस्थामा फेला परी उपचारार्थ अस्पताल लगिएका एक युवकको उपचारका क्रममा ज्यान गएको छ ।

मृत्यु हुनेमा मोरङको सुन्दरहरैँचा नगरपालिका ८ घर भई धरानमा वर्कसप व्यवसायमा संलग्न ३० वर्षीय विक्रम भण्डारी रहेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी नायबउपरीक्षक (डीएसपी) ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार राति करिब ९ बजे झुन्डिएको अवस्थामा स्थानीयले फेला पारी प्रहरीको सहयोगमा उपचारार्थ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याएकोमा युवकको उपचारका क्रममा ज्यान गएको हो ।

मृतकका आफन्तले हत्याको आशंका गर्दै छानबिनका लागि उजुरी दिएपछि प्रहरीले सर्जमिन मुचुल्का संकलन गरी अनुसन्धान सुरु गरेको डीएसपी बस्नेतको भनाइ छ । मृतक र निजकी श्रीमतिबीच आपसी विवाद रहेको जानकारी पाएको प्रहरीले अनुसन्धानका लागि मृतककी श्रीमतिलाई कार्यालयमा उपस्थित गराएको छ ।