इटहरीः मोरङको विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयले सीमावर्ति क्षेत्रमा हुने गरेका चोरी पैठारीजस्ता अवैध गतिविधि नियन्त्रण गर्न सक्रियता देखाएको छ ।
कार्यालयका प्रमुख प्रहरी नायबमहानिरीक्षक (डीआईजी) इश्वरबाबु कार्कीसमेत तस्करी नियन्त्रणका लागि मैदानमा उत्रिएका छन् । कोरोना महामारीका कारण सरकारले नेपाल भारत सीमा नाका सील गरी आवागमनमा पूर्ण प्रतिबन्ध लगाएपनि चोरी पैठारी बढिरहेको भन्दै नायबमहानिरीक्षक कार्कीले मातहतका प्रहरी कर्मचारीलाई तस्करी नियन्त्रणका लागि प्रभावकारी काम गर्न निर्देशन दिएका छन् । कार्कीले सीमावर्ति क्षेत्रका नेपालतर्फका प्रहरी युनिटहरुको स्थलगत निरीक्षणमा तिव्रता दिँदै अपराध नियन्त्रणमा जोड दिन प्रहरीलाई निर्देशन दिएका हुन् । प्रदेश १ प्रहरी प्रवक्ता कविन्द्र कार्कीका अनुसार नायबमहानिरीक्षक कार्कीले शंकास्पद गतिविधि हुने स्थानको बिनासूचना छड्के अनुगमनसमेत गर्ने गरेका छन् ।
नायबमहानिरीक्षक कार्कीले स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराई कोरोना नियन्त्रणको काममा सरकारलाई सहयोग गर्न पनि निर्देशन दिएको प्रवक्ता कार्कीले बताए । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट स्वीकृत प्रहरी आचार संहिता कार्यादेश २०७७ का बारेमा जानकारी गराउँदै डीआईजी कार्कीले त्यसविपरित काम गरेमा कारबाही हुने चेतावनी प्रहरीलाई दिएका छन् । गत वैशाख ११ गते प्रदेश १ प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका कार्कीले मोरङका प्रहरी युनिटमा तैनाथ कर्मचारीलाई विराटनगरस्थित आफ्नै कार्यालयमा र झापाका कर्मचारीलाई अनारमनिस्थित इलाका प्रहरी कार्यालयमा भेला गराई कर्तव्य पालनाको निर्देशन दिएका हुन् ।
जिम्मेवारी सम्हालेयता नायबमहानिरीक्षक कार्कीले एक सय ४८ जना प्रहरी कर्मचारीलाई आचरणहिन कार्यमा संलग्न भएको आरोपमा कारबाही गरेका छन् । कारबाहीमा पर्नेहरुमा दुई जना प्रहरी निरीक्षक, १० जना प्रहरी नायबनिरीक्षक, १५ जना प्रहरी सहायक निरीक्षक तथा ३६ जना जवान रहेको प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क छ ।