इटहरीः ताप्लेजुङको मिक्वाखोला गाउँपालिका ४ थलङस्थित एक घरमा आगलागी हुँदा दुई बालिकासहित तीन जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा १४ वर्षीया मञ्जु थलङ, ९ वर्षीया प्रीति थलङ र ३५ वर्षीया मीना थलङ रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायबउपरीक्षक (डीएसपी) महेन्द्रकुमार श्रेष्ठले बताए । उनका अनुसार हात खुट््टा र कुहिनामा आगोले पोलेर घाइते भएका सबैको अवस्था सामान्य रही उनीहरु आफन्तको घरमा बसेका छन् ।

पेट्रोल प्रयोग गरी मञ्जुले चुल्हो सल्काउन खोज्दा भएको आगलागीबाट रणध्वज थलङको तीन तले घर पूर्ण रुपमा नष्ट हुनुका साथै दुई तोला सुन र एक लाख ५० हजार रुपैयाँका साथै लत्ताकपडा, भाँडावर्तन, खाद्यान्नजस्ता वस्तु जल्दा २२ लाखको क्षति भएको प्रहरीको भनाइ छ ।