इटहरीः मोरङको विराटनगरस्थित कोसी ग्यास उद्योगले कम तौलका ग्यास सिलिन्डर बिक्री गर्ने गरेको रहस्य खुलेको छ ।
उद्योगको सिलिन्डर भरिएको अवस्थामा २९ किलो ६ सय ग्राम हुनुपर्नेमा २६ किलो तीन सय ग्राम मात्र रहेको देखिएको छ । विराटनगरका उपभोक्ता रतनकुमार बर्माले खरिद गरेको सिलिन्डरको तौल तीन केजी तीन सय ग्राम कम भएको देखिएको हो । उनले खरिद गरेका दुईमध्ये एउटा सिलिन्डरको तौल कम देखिएको छ । सिलिन्डरमा १४ किलो दुई सय ग्राम ग्यास रहेको उल्लेख भएपनि तौल भने कम देखिएको बर्माको भनाइ छ । टेम्पोमा राखी ग्यास बिक्री गर्ने व्यक्तिबाट खरिद गरी डिजिटल काँटामा तौल जाँच्दा कम देखिएको उनले बताए ।
बर्माले टेम्पोमा राखी सिलिन्डर बिक्री गर्ने राजकपुर मण्डलबाट सील प्याक सिलिन्डर खरिद गरेका थिए । विराटनगरका तीन ठाँउबाट सिलिण्डर खरिद गरेर बिक्री गर्दै आएको आएको मण्डलले बताएका छन् । सील प्याक सिलिन्डरको तौल कम देखिएपछि कम्पनीले कम तौलका सिलिन्डर बिक्री गरी ठगी गरिरहेको हुनसक्ने अनुमान गरिएको छ । तौल जाँचेर सिलिन्डर खरिद गर्न नसक्ने उपभोक्ताको बाध्यताको फाइदा कम्पनीले उठाउन खोजेको देखिन्छ । यता, कोसी ग्यास उद्योगका प्रबन्धक सचित उपाध्यायले भने कम तौलका सिलिन्डर उद्योगले बिक्री नगरेको जिकीर गरेका छन् । सिलिन्डर जाँच गरेपछि मात्र यथार्थ बाहिर आउने उनको भनाइ छ ।