इटहरीः खोटाङको हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेका वडाध्यक्ष किशोर बस्नेतले स्थानीय काशी नेपालीलाई आफ्न्र खर्चमा नयाँ घर निर्माण गरिदिएका छन् ।

श्रीमती, ४ छोरा र ३ छोरीसहित टहरामा बस्दै आएका नेपालीका लागि उनले जस्तापाताको छाना भएको दुई कोठे घर निर्माण गरिदिएका हुन् । आफूले निर्माण गरिदिएको घर राष्ट्रिय पूनर्निनिर्माण प्राधिकरणको मापदण्ड अनुरुपको भएको बताउँदै उनले दसैँअगावै घर हस्तान्तरण गरिएकोमा नेपाली हाल सो घरमा स परिवार बसिरहेको बताए । दुई लाख ७० हजार रुपैयाँमा छानाबाहेक अन्य संरचनाको निर्माण सम्पन्न भएको वडाध्यक्ष बस्नेतको भनाइ छ ।

छाना निर्माण भने एक घर एक छाना कार्यक्रमअन्तर्गत वडाबाट विनियोजित पाँच लाखको बजेटबाट सम्पन्न गरिएको उनले बताए । सिमेन्ट र रड आफूले उपलब्ध गराई कामदारको ज्यालासमेत दिएका वडाध्यक्ष बस्नेतले ट्याक्टर व्यवसायीबाट बालुवा निःशुल्क उपलध गराइदिएका हुन् । नेपालीले ढुङ्गााको बन्दोबस्त भने आफ्नै खर्चमा गरेका हुन् । ‘काशीलाई परिवार नै चलाउन गार्‍हो छ। घर बनाउँदा लागेको खर्च तिर्न सक्ने अवस्था पनि छैन,’ वडाध्यक्ष बस्नेतले भने, ‘लेवर र मिस्त्रीले त्यो पैसा काशीलाई होईन मलाई माग्छ। त्यसको जिम्मेवारी म आफैले लिएको छु।’ वडाध्यक्ष बस्नेतले पुननिर्माण प्राँधिकरणको मापदण्ड अनुसार घर निर्माण भएकाले पुनर्निर्माण प्राधिकरणबाट अनुदान पाउने व्यवस्थाका लागि पहल गरिदिने बताएका छन् । नेपालीको परिवारले ज्याला मजदुरी गरी जीवन निर्वाह गर्दै आएको उनको भनाइ छ ।