काठमांडौः काठमांडौस्थित महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक सचेतनाका लागि ‘सांगीतिक डमी अभियान’ शुभारम्भ गरेको छ।

आम सर्वसाधारणलाई ट्राफिक नियमसम्बन्धी जनचेतना फैलाउन उपत्यकाका विभिन्न ठाउँबाट ‘सांगीतिक डमी अभियान’ सुरु भएको हो । उपत्यकाका विभिन्न चोकमा राखिएको डमीमा ट्राफिक नियमसम्बन्धी विभिन्न गीतहरू बजाएर ट्राफिक नियमको बारेमा जानकारी दिइनेछ । ट्राफिक नियमबारे नागरिकलाई सुसूचित गर्ने र नियमको पालना भए दुर्घटना न्यूनीकरणमा समेत सहयोग पुग्ने महाशाखाका प्रमुख एसएसपी भीम ढकालले बताए ।

विश्वका अन्य देशहरुमा जस्तो विद्यालयमा शिक्षामा ट्राफिक नियमसम्बन्धी पाठ्यक्रम नसमेटिएको अवस्थामा ट्राफिक प्रहरीले आफ्नो पहलमा विभिन्न कार्यक्रम गर्दै सचेतना फैलाइरहेको उनले बताए । ट्राफिक उज्यालो अभिउान, जथाभावि बाटो काट्नेलाई २० मिनेट कक्षा लिने अभियान, ठाउँ ठाउँमा सारङ्गी टोली घुमाउने र स्वयमसेवक समेत परिचालन गरी ट्राफिक नियमसम्बन्धी जनचेतना फलाउने काम भइरहेको उनले बताए । पहिलो चरणमा काठमाडौं उपत्यकामा ५ स्थानहरु रत्नपार्क, कोटेश्वर, कलंकी, नयाँ बानेश्वर र नयाँ बसपार्कमा सांगीतिक डमी अभियानको शुभारम्भ गरिएको छ ।

अभियानबाट प्रतिदिन तीन हजार र एक महिनामा तीन लाखलाई ट्राफिक नियमसम्बन्धी सचेतना जगाउने लक्ष्य ट्राफिक प्रहरीले लिएको छ । अहिले एक जना ट्राफिक प्रहरीले प्रतिदिन ११ सय सवारी हेर्नुपर्ने बाध्यता छ । करिब १२ लाख सवारी रहेको उपत्यकामा ट्राफिक व्यवस्थापनका लागि १५ सय ट्राफिक प्रहरी कार्यरत छन्। केही समयअघि जनचेतनामूलक सन्देश सहित ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न ठाउँमा ट्राफिक डमी राखिएको थियो। त्यो अभियानले सकारात्मक सन्देश दिएको ट्राफिक प्रहरीको भनाइ छ ।