इटहरीः मोरङको विराटनगरस्थित जिल्ला अदालतले मानव बेचविखनमा संलग्न रहेको अभियोगमा गत असोज ४ गते विराटनगर १७ स्थित भारतीय सीमावर्ति गाउँ स्लामपुरबाट पक्राउ परेका तीन जनामध्ये दुई जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको छ ।
कारागार चलान हुने अभियुक्तहरुमा मोरङको लेटाङ्ग नगरपालिका ३ घर भई रामधुनी नगरपालिका ५ झुम्कामा बस्ने २२ वर्षीया मनिका ढकाल र सप्तरीको विष्णुपुर गाउँपालिका ५ का २८ वर्षीय सुमितकुमार मण्डल रहेका छन् । अदालतका मुख्य न्यायधीश मेदिनीप्रसाद पौडेलको इजालशले दुई जनालाई कारागार चलान गर्दै सप्तरीको तिलाढी कौलारी गाउँपालिका १ का नाबालकको हकमा विराटनगरस्थित बाल सुधार गृह पठाउन आदेश दिएको हो ।
साना हातहरु नामक संस्थाको सक्रियतामा उद्दार गरिएकी सुनसरीको रामधुनी नगरपालिका घर भएकी किशोरीलाई अभियुक्तहरुले बलि दिने प्रयोजनका लागि भारतमा बिक्री गर्न खोजेका थिए । मुख्य अभियुक्त सुमितले प्रहरीसमक्ष १२ लाख रुपैयाँ पाउने भएपछि किशोरीलाई भारततर्फ लगेको बयान दिएका छन् । सुमितका अनुसार आफ्ना भिनाजु र भिनाजुका भाईबाट १२ लाख रुपैयाँ लिई तीनै जनाले जनही चार लाखका दरले बाँडेर लिने उनीहरुको योजना थियो । सुमितले दुई वर्षअघि फेसबुकमार्फत् साथी बनेकी मनिकाको सहयोगमा उनकै घर नजिकै तरकारी पसल गर्दै आएकी किशोरीलाई बिक्री गर्ने योजना बनाएका हुन् ।