इटहरीः मोरङको विराटनगर महानगरपालिका १६ दरैया बस्तीको चौठीटोलका राजेश ऋषिदेवको जग्गा विवादका कारण सोही ठाउँका छिमेकीहरुको कुटाइबाट ज्यान गएको मृतककी श्रीमति २७ वर्षीया करनीदेवी ऋषिदेवले दाबी गरेकी छन् ।
आफूहरुले खरिद गरेको एक कट्ठा ऐलानी र चार धुर नम्बरी जग्गा छिमेकी गंगवा मण्डलले आफ्नो भएको दाबी गर्दै त्यहाँबाट हट्न दबाब दिएकोमा नमानेपछि छिमेकीहरुले गरेको कुटपिटबाट श्रीमानको ज्यान गएको उनको भनाइ छ । विवाद बढेपछि १९ गते जग्गा नापीका क्रममा छिमेकी मण्डलले ऋषिदेव परिवारलाई जग्गा आफ्नो भएको भन्दै खाली गर्न दबाब दिँदै घर अगाडी रहेको मन्दिरसमेत भत्काइदिएको करनीदेवीले बताइन् ।
आफ्नो जग्गाबाट हट्न अस्वीकार गरेका राजेशलाई छिमेकीहरु कन्हैया मण्डल, देवान मण्डल, गंगवा मण्डल, हरेराम र अनिल मण्डलले मरणासन्न हुनेगरी कुटपिट गरेकोमा उनी सोही दिन आफ्नै कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए । झगडा भएकै दिन श्रीमान मृत भेटिएपछि उनको हत्या भएको भन्दै करनीदेवीले किटानी जाहेरी दिन जाँदा प्रहरीले जाहेरी लिन अस्वीकार गरेको छ । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाले हत्या नभएको दाबी गर्दै उजुरी लिन अस्वीकार गरेका हुन् ।
प्राप्त प्रमाणका आधारमा हत्या भएको नदेखिएकाले उजुरी दर्ता गर्न नसकिएको उनको जिकीर छ । मृतकको झुन्डिएर नै ज्यान गएको भन्ने पोष्टमार्टम प्र्रतिवेदन आएको उनले बताएका छन् । मृतकको शरिरमा चोटपटक लागेको प्रतिवेदनले देखाएपनि प्रहरीले कारबाही चलाउन आनाकानी गरेको देखिन्छ ।