इटहरीः स्वास्थ्य मन्त्रालय अन्तर्गतको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) विदेशमा संक्रमणका कारण विदेशमा रोकिएका नेपालीको उद्दार कार्य सम्पन्न भएको जनाउँदै सो कार्यका लागि सरकारबाट पठाउने गरिएको विमानको सेवा बन्द गर्न सिफारिस गरेको छ ।
हालसम्म सरकारले विभिन्न देशमा पठाएका विमानबाट एक लाख ३६ हजार २१६ जना नेपालीको उद्दार गरिएको उल्लेख गर्दै सीसीएमसीले सम्बन्धित मुलुकमा रहेका नेपाली नियोगबाट उद्दार सम्पन्न भएको जानकारी आएको जानकारी सरकारलाई दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंका अनुसार सीसीएमसीले कुनै देशमा उद्दारका लागि पुनः विमान पठाउने आवश्यकता देखिएमा नियमित उडानबाट ल्याउने व्यवस्था गर्नेछ । यस्तै सीसीएमसीले भारतमा रहेका नेपालीलाई १३ ओटा नाकाबाट नेपाल प्रवेशको व्यवस्था गरेकोमा बैतडीको झुलाघाट नाकाबाट पनि प्रवेश खुला गर्न सिफारिस गरेको छ ।
सरकारलाई सीसीएमसीले केबलकार, जंगल सफारी र सासहिक पर्यटनका क्षेत्रसमेत सञ्चालनमा ल्याउन सुझाव दिएको छ । यस्तै, आइसोलेसनमा रहने संक्रमितको बढ्दो संख्यालाई ध्यानमा राखी त्यस्ता संक्रमितका लागि स्थानीय तहअन्तर्गत वडा तहमा स्वास्थ्यकर्मीको परामर्श सेवा पुर्याउनसमेत सीसीएमसीले सरकारलाई सुझाव दिएको छ । कुटनीतिक नियोगका कर्मचारीका विदेशमा रहेका परिवारलाई नेपाल आउने वातावरण तयार गरिदिनुपर्ने सुझावसमेत सीसीएमसीले सिफारिसमा समेटेको छ ।