इटहरीः बढ्दो बलात्कार तथा महिला हिंसाको सांकेतिक विरोधस्वरुप मोरङको विराटनगर महानगरपालिका क्षेत्रमा आज सोमबार किशोरीहरुले कालो पोसाकसहित प्रदर्शन गरेका छन् ।

‘अझै कति सहने’ नामक देशव्यापी महिला हिंसा विरोधी अभियानका क्रममा गरिएको प्रदर्शनमा सहभागीहरुले नो मिन्स नो, बालिकामाथि हुने बलात्कार बन्द गर, बलात्कारीलाई सजाय दे, समाजमा हिंसा बन्द गर लगायतका नारा अङ्कित प्लेकार्ड बोकेका थिए । कालो पट्टी र कालो मास्कसमेत धारण गरेका अभियानकर्मीहरुले देशमा बढ्दो बलात्कारका घटना न्यूनीकरण गर्नुका साथै हिंसाबाट पीडित व्यक्तिलाई न्यायको प्रत्याभूति दिन सरोकारवालाको ध्यानकर्षण गराएका थिए ।

अभियानमा सहभागीहरुले सचेतनामूलक नृत्यसमेत प्रस्तुत गरेका थिए ।