इटहरीः काठमांडौको कलङ्कीबाट गत असोज १५ गते म्याद गुज्रिएका खाद्य सामग्रीमा नक्कली म्याद राखी बिक्री गरेको अभियोगमा रङ्गेहात पक्राउ परेका दुई जना कारबाहीमा परेका छन् ।

कारबाहीमा पर्नेहरुमा भारतको राजस्थान घर भई कलङ्की क्षेत्रमा आयान डिस्ट्रिब्युटर्स नामको पसल सञ्चालन गर्दै आएका रोनक बोथ्रा र धादिङको गल्छि घर भई विष्णुलक्ष्मी डिस्टिब्युटर सञ्चालन गर्दै आएका शंकर बयलकोटी रहेको वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका सूचना अधिकारी रविन्द्र आचार्यले जानकारी दिए । उनका अनुसार पक्राउ परेका दुवै अभियुक्तलाई जनही एक वर्ष कैद र तीन लाख रुपैयाँ जरिवाना गरिएको छ ।

यसैगरी, काठमाडौँको महाराजगञ्ज र मालिगाउँमा गरिएको अनुगमनका क्रममा ठूलो परिमाणमा म्याद सकिएका खाद्य वस्तु फेला परेकोमा सो स्थान तत्काल सीलबन्दी गरी रिलेबलिङ गरेको हुनसक्ने भन्दै अनुसन्धान गर्दा सो पुष्टि हुन नसकेपछि म्याद नाघेकोे खाद्य वस्तु राखेको अभियोगमा व्यवसायीबाट जरिवाना असुल गरिएको विभागले जनाएको छ ।