इटहरीः आज मंगलबार बिहान सुनसरीका दुई स्थानमा भएका सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।
बिहान ८ः१५ बजे सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित करम खोलाको पुलमा मोटरसाइकलको ठक्करबाट एक जनाको ज्यान गएको इलका प्रहरी कार्यालय चतराले जनाएको छ । मृत्यु हुनेमा सोही ठाउँ घर भएका ५५ वर्षीय धनबहादुर कार्की रहेका छन् । प्रदेश १–०२–०४० प ५२९६ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका कार्कीलाई उपचारार्थ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उनको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटना गराउने मोटरसाइकलका चालकसमेत घाइते भई प्रतिष्ठानमै उपचाररत रहेको बताउँदै प्रहरीले उनको मोटरसाइकल नियन्त्रणमा लिएको जनाएको छ । यसैगरी, सुनसरीकै हरिनगरा गाउँपालिका ३ मा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा रामधुनी नगरपालिका १ घर भएका मनोज श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । बिहान करिब ९ः३० बजे को२त ९५८९ नम्बरको ट्रयाक्टर दुर्घटनामा परी गम्भीर घाइते भएका सहचालक श्रेष्ठलाई उपचारार्थ जिल्ला अस्पताल इनरुवा पठाइएकोमा उपचारका क्रममा उनको ज्यान गएको प्रहरीको भनाइ छ ।
सडक निर्माणका लागि पानी बोकेर गौतमपुरतर्फ गइरहेको ट्याक्टर अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएको प्रहरीले जनाएको छ ।