इटहरीः काठमांडौका एक कन्सल्टेन्सी सञ्चालकसँग आफूहरु नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता रहेको बताई तीन करोड रुपैयाँ चन्दा माग गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा नुवाकोट घर भएका बिन्तोष सिलवाल, रामेछाप घर भएका रामदल श्रेष्ठ उर्फ अटल, काभ्रेका तीर्थमान तामाङ र चितवनका नन्दुराज आचार्य रहेको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठउपरीक्षक (एसएसपी) दीपक थापाले जानकारी दिए । अभियुक्तहरुमध्ये आचार्य अधिवक्तासमेत रहेको थापाको भनाइ छ ।

चन्दा नदिए दुई दिनभित्र हत्या गर्ने धम्की दिँदै चन्दा असुली गर्न लागेका व्यवसायीसँग अभियुक्तहरुमध्ये रामेछापको सुनापती घर भएका ३१ वर्षीय रामदल श्रेष्ठ ‘अटल’ विप्लव समूह रामेछापका पूर्व जिल्ला सेक्रेटरी रहेको तथा बिन्दोस सिलवाल नुवाकोटमा डोजर आगजनीको आरोपमा यसअघि पनि पक्राउ परेको एसएसपी थापाले प्रष्ट पारे ।

आफूहरु विप्लव समूहमा विगतमा आबद्ध भएपनि हाल समूह परित्याग गरेको अभियुक्तहरुको बयान रहेको बताउँदै उनले सबै अभियुक्तमाथि ‘आपराधिक लाभ’ कसुरमा अदालतबाट तीन दिनको म्यााद लिई अनुसन्धान सुरु गरेको प्रहरीको भनाइ छ ।