विर्तामोडः आफ्नै जेठाजुको विभत्स हत्या गरेको आरोपमा झापा कनकाई नगरपालिका ४ इलुवावारीकी ४९ वर्षीया रनमाया बाँस्तोलालाई १२ घण्टा नबित्दै प्रहरीले पक्राउ गरेको छ ।
झापा कनकाई नगरपालिका ४ इलुवावारीका ५६ वर्षीया पदमलाल बाँस्तोलाको टाउकोमा धारिलो हतियार प्रहार गरेर शिवसताक्षी नगरपालिका १० सगरमाथा टोल माई नदीको किनारमा हत्या गरेर फ्याकिएको अवस्थामा शव फेला परेको थियो। बिहीबार साँझ ५ बजेको समयमा स्थानीय वस्तु चराउन जानेले बाँस्तोलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
मृतक बाँस्तोला र बुहारी रनमाया बाँस्तोला बुधबार दिउँसो २ बजेबाट घरबाट काँस काटन जाने भन्दैसँगै कनकाई माईखोला बगरमा गएका थिए । घाँस काटेर बुहारीमात्रै घरमा फर्किएकी थिइन । सोधीखोजी गर्दा बाँस्तोलाको शव अनुहार नचिन्निने अवस्थामा काँसघारीभित्र फेला परेको थियो ।
बाँस्तोलाको हत्यामा प्रयोग गरिएको हसिँया र कुटोसहित बुहारीलाई पक्राउ गरिसकिएको इलाका प्रहरी कार्यालय विर्तामोडका डिएसपी रुगमबहादुर कुवँरले जानकारी दिए ।
हत्यामा संग्लन बाँस्तोलाले आफूले हत्या गरेको स्वीकार गरेकी छन् । आफूलाई बलत्कार गर्न खोजेकाले प्रतिकार गर्दा मृत्युभएको बुहारीको बयान छ । मृतक बाँस्तोलाको शव नजिकै १० मुठाजति काटेर बिटा बनाएको काँससमेत फेला परेको छ । मृतक बाँस्तोलाका दुई छोरा, एक छोरी र श्रीमती छन् ।
प्रहरीले हत्या आरोपी बुहारी रनमाया बाँस्तोला र हत्यामा प्रयोग गरेको हँसिया र कुटोसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएको छ । थप अनुसन्धान राखिएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक महेन्द्र खड्काले जानकारी दिएका छन् । गोरखापत्रबाट