इटहरीः धरानकी एकल महिला उषा राईको कुटपिट गरि मृत्यु भएको प्रकरणमा पक्राउ गरेका तीन जनालाई जेल चलान गर्न सुनसरी जिल्ला अदालतले आदेश दिएको छ । 

धरान १३ की एकल महिला उषा राईको कुटपिट पछि उपचारको क्रममा मृत्यु भएको घटनामा  सुनसरी जिल्ला अदालतले उक्त आदेश दिएको हो ।  

आरोपित मध्ये चार जना पक्राउ परेका थिए भने ३ जना अझै फरार रहेका छन् । सुनसरी जिल्ला अदालतका  न्यायाधिश पुण्यप्रसाद सापकोटाको इजलाशले उषा राईलाई कुटपिट गर्ने मुख्य आरोपी उर्मिला राई, सुसेली राई र सुमित्रा राईलाई थुनामा पठाउने आदेश गरेको हो । 

बुधबार दिएको आदेशमा अर्का आरोपी रत्ना सुब्बालाई भने १ लाख धरौटी लिएर छोड्न भनिएको छ । भने तीन जनालाई शुक्रबार झुम्का कारागारमा पठाउने तयारी इलाका प्रहरी कार्यलय धरानले गरेको छ । 

पक्राउ पर्न नसकेका फरार हरुमा निरकुमारी गुरुङ, सृर्जना राई र मिना राई रहेका छन् । घटनाको  मुख्य आरोपी मानिएकी उर्मिला राईले उषा आफ्नो श्रीमानसँग नजिकिएको आशंकामा आफन्त र छरछिमेकी महिलाहरुसहित भेला गरेर कुटपिट गरी घाइते बनाएका थिए । उषालाई कार्तिक ३ गते कुटपिट गरीएको भएपनि घाइते उषालाई उपचार पश्चात डिस्चार्ज भएपछि उपचार खर्च दिएर मिलापत्रसमेत भएको थियो । 

यता मंंसिर दोस्रो साता उषाको  स्वास्थ्य बिग्रिएर पुनःवीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गर्नुपरेको थियो । उषाको  उपचारको लागि वीपी प्रतिष्ठान रहेकै बेला  मृत्यु भएको थियो । दिदिको मृत्यु भएपछि उनको भाई सुन्दर राईले किटानी जाहेरी दिएका थिए । सिलाई कटाईको काम गरेर परिवार पाल्दै गरेकी उषाका दुई छोरी छन् ।