इनरुवाः इनरुवा नगरपालिका स्थित पुरानो होली पक्की ढलनालाको दायाँ वायाँ रहेको सार्वजनिक जग्गामा मर्निङ वाक ट्रयाक बनाउनका तयारी थालिएको छ ।
इनरुवा १ नम्बर वडा कार्यालयका तर्फबाट वडाअध्यक्ष प्रमोद पोखरेल, वडासदस्य प्रदिप ढकाल र कार्यपालिकाका सदस्य विनोद अटल रहेको अध्ययन समितिले सार्वजनिक जग्गामा मनिङ वाक ट्रयाक बनाउन स्थलगत अध्यय्न गरि योजना बनाउन सुरु गरेको हो ।
वडाअध्यक्ष प्रमोद पोखरेलका अनुसार नगरपालिका कार्यालयको मुलगेट दक्षिणतर्फबाट गुद्रीहुँदै महानन्द पार्कसम्मको खण्डमा होलीको ढलनालाको दायाँ वायाँ र गुद्रीबाट दक्षिणतर्फ घण्टाघर निर्माणका लागि बनाएको संरचना सम्मको भागमा रहेको सार्वजनिक जग्गा नाप नक्शा गरि मनिङ वाक ट्रयाक बनाउने तयारी थालिएको हो ।
वडासदस्य प्रदिप ढकालले साविकको होलीको जग्गामा १० फिट क्षेत्रफलमा पक्की ढलनाला बनेसँगै होलीको पूर्व र पश्चिमतर्फ दायाँवायाँ दुवैतर्फ ४ फिटदेखि २० फिटसम्म ऐलानी, सार्वजनिक जग्गा रहेकाले त्यसक्षेत्रको संरक्षणका लागि पूर्वाधार तयार गरि सर्वसाधरणका लागि आवतजावत गर्न दुवै तर्फ एकतर्फी सडक बनाउने तयारीका लागि अध्यय्न थालिएको बताए ।
उनले भने, ‘नगरपालिका कार्यालय र वडामा रहेका अमिनबाट जग्गाको नाप नक्शा गरि जग्गा छुट्टयाउन स्थलगत अध्ययन कार्य सुरु गरिएकाले सवैको परामर्श लिने काम भइरहेको छ ।’
वडाअध्यक्ष पोखरेलले पहिलो चरणमा जग्गा छुट्टयाउने कार्य सकिएपछि माटो पुरी ग्राभेल गर्ने, दोसो चरणमा टायल सडक बनाएर दायाँवाया एजिङ राख्ने योजना बनाएको बताए ।
उनले होलीको पक्की ढलनालामा रहेको भागमा दुवैतर्फ स्टीलको रेलिङ लगाउनुका साथै सो क्षेत्रमा बिच बिच भागमा ढलान गरि दुई तीनवटा स्थानमा खुल्ला जिमखानाका सामानहरु राख्ने योजना तयार पारेको बताए ।
वडासदस्य ढकालले वडाले तयार पारेको योजना नगरपालिकाका मेयर केदार भण्डारी र कार्यपालिकामा पेश गर्नका लागि जग्गा नाप नक्शाको कार्य सकिएपछि इनरुवा ३ नम्बर र ४ नम्बर वडामा रहेको होलीमा यही योजना लागु गरि इनरुवाको गौरव योजनाका रुपमा लैजाने बताए ।
होलीको सुरुवात पोइन्ट इनरुवा ३ मा रहेको राधाकृष्ण मन्दिर हुँदै नगरपालिका कार्यालयबाट गुद्री महानन्दपार्क हुँदै बसपार्कसम्म पुगेकाले दुवै वडालाई समेटेर इनरुवा १ को योजनालाई लैजाने दुरदृष्टी बनाएको ढकालले बताए ।
इनरुवामा बिहान बेलुकाको समयमा हिड्डुल र व्यायम गर्नका लागि खुल्ला चौर नभएको कारण इनरुवावासी व्यस्त पूर्वपश्चिम राजमार्ग, इनरुवा दुहवी सडक र बजारक्षेत्रको सडक हुँदै हिड्डुल गर्न बाध्य रहेकाले करिब ४ किलोमिटर होलीको ट्रयाकलाई मनिङ वाक ट्रयाक र खुल्ला जिमखाना र व्यायम गर्ने स्थानका रुपमा गौरवशाली योजनाका रुपमा अगाडि ल्याउन ढकालले बताए ।