प्रकाश बन्जारा
इटहरीः रामधुनी नगरपालिकाले चालु आर्थिक बर्षमा संघ र प्रदेश सरकारबाट आउने सशर्त र समानीकरण अनुदान बाहेकका अनुमानित आयमा लक्ष्य हासिल गर्न नसकेको पाइएको छ ।
आर्थिक बर्षको ६ महिना बितिसक्दा अनुमानित बजेटमा लक्ष्य प्राप्ती गर्न सकेको छैन । शुक्रबार सम्पन्न नगरपालिकाको १३ औँ नगरसभामा नगर उपप्रमुख तारा थापाले प्रस्तुत गरेको प्रतिवेदन अनुरुप प्रदेश र संघमा सशर्त र समानीकरण अनुदान वापत आउने रकम ५० प्रतिशत आएको छ भने बाँकी औषत ३० प्रतिशत मात्रै लक्ष्य प्राप्ती भएको छ ।
पछिल्ला ५ महिनामा बिभिन्न स्रोतबाट प्राप्त आयहरुमा राजश्व वाँडफाँडमा प्रदेश तर्फ १९ लाख ६ हजार ७ सय रुपैँया प्राप्त भएको छ । नगरपालिकाले प्रदेशबाट राजश्व वाँडफाँड तर्फ ५४ लाख ७५ हजार ४८० रुपैँयाको लक्ष्य राखेको थियो ।
नगरपालिकाले प्राप्त गरेको उक्त रकम अनुमानित रकमको ३४ दशमलव ८२ प्रतिशत हो । यसैगरी घर जग्गा रजिष्ट्रेशन तर्फ तीन करोड रुपैँयाको लक्ष्य रहेकोमा हाल सम्म १ करोड १६ लाख ६३ हजार ७९६ रुपैँया प्राप्त गर्न सफल भएको छ ।
जुन अनुमानित रकमको ३८.८८ प्रतिशत हो । यस्तै संघीय राजश्व वाँडफाँड तर्फ ११ करोड ३१ लाख एक्काइस हजार अनुमानित गरिएकोमा २ करोड ७६ लाख ४२ हजार ७५६ रुपैँया प्राप्त गरेको छ । जुन रकम अनुमानितको २४.४४ प्रतिशत हो । यस्तै आन्तरिक स्रोत तर्फ नगरपालिकाले ४ करोड ५१ लख अनुमान गरेकोमा १ करोड ३५ लाख १६ हजार बराबर रकम असुल गरेको छ जुन अनुमानित रकमको २९ प्रतिशत हो ।
यता प्रदेश सर्शत, प्रदेश समानीकरण र संघको समानीकरण अनुदान तर्फ भने ५० प्रतिशत रकम प्राप्त भएको छ । नगरपालिकाले प्रदेश सशर्त तर्फ १ करोड ३० लाख ९२ हजार, प्रदेश समानीकरण अनुदान तर्फ ९४ लाख १० हजार र संघ समानीकरण तर्फ १६ करोड ९२ लाख रुपैँया अनुमान गरेको थियो । यी तीनै शिर्षकमा नगरपालिकाको ५० प्रतिशत प्रगती भएको छ ।
चालु आर्थिक बर्षमा कुल अनुमानित बजेटबाट २४ करोड उनन्तीस लाख पचहत्तर हजार रुपैया खर्च भइसकेको नगरपालिकाकी उपप्रमुख तारा थापाले बताइन । ६ महिनामा चालु तर्फ ३२.१३ प्रतिशत र पुजँीगत तर्फ २०.४६ प्रतिशत खर्च भएको छ ।