इनरुवाः इनरुवा नगरपालिका वडा नम्बर ४ मा निर्माण भएको एक कालोपत्रे सडकमा वडाध्यक्ष र नगरपालिकाका इन्जिनियरको मिलोमतोमा उपभोक्ता समितिका अध्यक्षलाई धम्की र त्रास देखाएर आफै सडक बनाएर आफै भुक्तानी लिएको घटना सार्वजनिक भएको छ ।
बाटो निर्माणका लागि नगरपालिकासँग उपभोक्ता समितिको सम्झौता भएपनि वडाध्यक्ष बौवालाल मेहता र योजना शाखाका इन्जिनियर उमेश्वर मेहताले उपभोक्ता समितिलाई दवाव दिई आफै काम गरेर आफै भुक्तानी लिएको उपभोक्ता समितिका अध्यक्ष उमेश मेहताले बताए ।
बाटो निर्माण उपभोक्ता समितिले भुक्तानी दिन प्रयोगको चेक बुकको अर्धकट्टीमा इन्जिनियर मेहताको नाममा ३५ लाख रुपैयाको चेक काटिएको देखिएको छ ।
२०७९ कार्तिक २१ गते काटिएको चेक निर्माण गर्ने सडक निर्माण गर्ने मानिसको नाममा काटिनु पर्नेमा नगरपालिकाका इन्जिनियरको नाममा वडाध्यक्ष र स्वयम इन्जिनियर मेहताले चेक नकाटे उल्टै कानूनी झण्झटमा फसाउने डरधाक देखाएर आफूसँग चेक काट्न लगाएको अध्यक्ष मेहताले गुनासो गरे ।
वडाध्यक्ष मेहताले उपभोक्ता समितिका अध्यक्ष मेहतालाई आफूहरुले काम गर्न नपाए सडक नबन्ने, चाँजपास नगरपालिकाबाट नहुने र आफूखुसी गरेमा अख्तियार लगाएर कारवाही गराउने धम्की दिएपछि बाध्य भएर आफूहरुले उनीहरुको मागअनुसारको रकमको चेकमा सही गरेको अध्यक्ष मेहताले भने ।
त्यसैगरी वडा नम्बर ४ को पिपल चोकदेखि होलीसम्म निर्माण भएको ६ सय ८७ मिटर लामो सो कालोपत्रे सडक निर्माणको क्रममा चार वर्षअघि नै ग्रावेल हाल्ने र ढल निर्माण गर्ने काम सम्पन्न भएर त्यसको भुक्तानीसमेत नगरपालिकाले गरिसकेको स्थितिमा अहिले डब्लुबीएम, बेस हाल्ने क्रममा पुरानो ग्रावेलको पैसा भुक्तानी भएको छैन भन्दैे उपभोक्ता समितिबाट चेक काट्न लगाई दोहोरो भुक्तानी गरिएको समेत पाईएको छ ।
सो सडक निर्माणमा इनरुवा नगरपालिकाका साइट हेर्ने सब इन्जिनियर चन्दन कण्ठले ग्रावेल हाल्ने र ढल निर्माण गर्ने काम चार वर्ष अघि नै सम्पन्न भएको र त्यसको भुक्तानी पनि पहिला नै भएको जानकारी दिए ।
तर सडक उपभोक्ता समितिका अध्यक्ष उमेश मेहताले अहिले आएर वडाध्यक्ष बौवालाल मेहताले पुरानो ग्रावेलको पैसा तिर्न बाँकी छ त्यो भुक्तानी नगरी नयाँ काम अघि बढ्दैन र पैसा ल्याप्स हुन्छ भन्दै उपभोक्ता समितिलाई दवाव दिएपछि उपभोक्ता समितिले २० लाख २२ हजार रुपैया भुक्तानी गरेको बताए ।
उनले भने, ‘यसको भुक्तानी पहिला नै नगरपालिकाले गरिसकेको रहेछ तर वडाध्यक्ष बौवालाल मेहताले अहिले फेरि बाँकी छ यो त तिर्नै पर्छ भनेर दवाव दिएर पुनः भुक्तानी दिन लगाए ।’
उनका अनुसार वडाध्यक्ष मेहताले निर्माण ब्यवसायी खेम थापाको नाममा पुरानो बक्यौता तिर्ने रकम चेक काट्न लगाएको र त्यसमध्येकै १ लाख ४५ हजार रुपैया आफ्नो नाममा चेक काट्न लगाएर त्यो चेक पनि थापालाई दिन लगाएका थिए ।
उपभोक्ता समितिका अध्यक्ष मेहताले आठ वटा विजुलीको पोल सार्न ५ हजारको दरले ४० हजारमा जिम्मेवारी दिएको भएपनि वडाध्यक्षले दवाव र धम्की दिएर ६० हजार रुपैया जवरजस्ती भुक्तानी गराउन लगाएको गुनासो गरे ।
उनले आफूहरुले सस्तोमा सडक निर्माण गर्न अरु निर्माण कम्पनीसँग कुरा गरिरहँदा वडाध्यक्ष मेहता र इनरुवा नगरपालिकाका इन्जिनियर उमेश्वर मेहताले उपभोक्ता समितिलाई जानकारीसमेत नदिई आफूखुसी काम सम्पन्न गरेको बताए।
उपभोक्ता समितिका अध्यक्ष मेहताले भने, ‘ २५ प्रतिसत गिट्टी र ७५ प्रतिसत माटो भएको गुणस्तरहीन बेसको सामग्री हाले, कालोपत्रे पनि हामीले सस्तोमा अरुसँग कुरा गरिरहँदा अरुले काम गरे इन्जिनियरले पास गर्दैनन भन्दै आफूखुसी कालोपत्रे गरे ।’
उनका अनुसार ३० एमएमको कालोपत्रे गर्ने गरी सम्झौता भएपनि अहिले कतै १५ देखि १८ एमएमसम्मको मात्रै कालोपत्रे गर्दा सडकमा गुड्ने साईकल र मोटरसाईकले ब्रेक हान्दासमेत सडक भत्किने गरेको छ । गत कार्तिक ३० गते कालोपत्रे भएको सडक दुई महिना पनि नपुग्दै ठाँउ ठाँउमा भत्किन पुगेको छ।
सो सडक निर्माणको लागि उपभोक्ता समिति र नगरपालिकाबीच २०७९ असार ९ गते निर्माणको सम्झौता भएको थियो भने पुस ११ गते अन्तिम भुक्तानी भईसकेको छ ।
सडक बोर्ड काठमाडौको बजेटमा उपभोक्ताको समेत लागत सहभागितासहित ८८ लाख ८० हजार ७६५ रुपैया ३ पैसामा निर्माण सम्झौता भएकोमा नगरपालिकाले अन्तिम भुक्तानीसहित ८० लाख ६४ हजार ३०८ रुपैया ४७ पैसा भुक्तानी गरिसकेको छ ।
उपभोक्ता समितिका अध्यक्ष मेहताका अनुसार सो सडक निर्माणका लागि पहिला नै बनेको उपभोक्ता समितिलाई विघठन गराएर वडाध्यक्ष मेहताले नयाँ उपभोक्ता समिति बनाएका थिए ।
वडाध्यक्ष मेहताले पटक पटक दवाव दिदै काम सुरु हुनु अगावै अब काम हुँदैन पैसा दिनु पर्छ भन्दै सामाजिक दवाव र घेराबन्दीमा पारेर चेक काट्न लगाउँदै लगेको र त्यो पैसा कहाँ कति कति खर्च भयो भन्ने कुराको जानकारी आफूलाई नरहेको भन्दै आफूले आफ्नो घर अगाडिको बाटो राम्रो बनोस भन्ने उद्देश्यले काम गरेपनि अहिले आएर गुणस्तरहीन सडक निर्माण भएपछि आफूलाई समेत समस्यामा पार्ने गरी जालझेल भएको चाल पाएको दुखेसो पोखे ।
उनले गुणस्तहीन रुपमा अपरादर्शी रुपमा भएको सो कामको विषयमा सरोकारवाला निकायले छानविन गरेर आफूलाई न्याय दिलाउन आग्रहसमेत गरे ।