विराटनगरः भोलि अर्थात बुधबारबाट मोरङ जिल्ला भरी दिउँसो ४ बजेसम्म बजार तथा पसल खुल्ला हुने भएको छ । आज जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लामा जारी निषेधाज्ञालाई थप खुकुलो प्राबधानसहित एक साता लम्ब्याउने निर्णय गरेको छ । प्रशासनको निर्णय अनुसार भोलिबाट ४ बजेसम्म बजार तथा पसल खुल्ने भएको हो । यस अघि प्रशासनले मध्यान्ह १२ बजेसम्म मात्र बजार तथा पसल खुल्ला गर्ने निर्णय गरेको थियो ।
जिल्ला प्रशासन कार्यालय मोरङले भदौं २२ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा भने जारी राख्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी कोषहरी निरौंलाका अनुसार निषेधाज्ञाको अबधिमा जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका निजी सवारी साधन सञ्चालन गर्न पाइने भएको छ । सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाइएको भएपनि सिटीरिक्सा सञ्चालन गर्न खुल्ला गरिएको छ । प्रशासनले शनिबार भने अत्यावश्यक बाहेकका पसल सञ्चालामा रोक लगाएको छ ।

निषेधाज्ञाको अबधिमा सैलुन, ब्युटीपार्लर, गुद्रीबजार, हाटबजार, जीमखानालगायत भने खोल्न नपाइने भएको छ । यस्तै भेला, महोत्सव, जात्रा जस्ता सामूहिक गतिबिधि, गर्न पनि रोक लगाईएको छ ।सरकारी कार्यालयले आलोपालो गरी न्युनतम् संख्यामा कर्मचारी राखेर भदौ २१ गतेबाट तालिका अनुसार सेवा सञ्चालन गर्नुपर्ने भएको छ । उद्योगहरुले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर सञ्चालन गर्न पाउने भएका छन् । जिल्लाभर राति ९ बजेदेखि विहान ५ बजेसम्म हिँडडुल गर्न प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी निरौंलाले बताए ।
कोरोना महामारी अझै नियन्त्रणमा नआएको र निषेधाज्ञाले दैनिक जनजीवन पनि कष्ठकर भइरहेकोले जीवनयापन सहज बनाउनेगरी निषेधाज्ञाको मापदण्ड परिमार्जन गरिएको उनको भनाइ छ ।