धरानः निर्वस्त्र रुपमा एक युवतीको शव सप्तकोशी नदिको किनारमा आज फेला परेको छ । निर्वस्त्र रुपमा अन्दाजी ५ फिट उचाइ भएको र कानमा सुन जस्तो धातुको कुण्डल लगाएको महिलाको शव भेटिए पनि नाम, ठेगाना खुल्न नसक्दा सनाखत हुन नसकेको इलाका प्रहरी कार्यालय महेन्द्र नगरले जनाएको छ ।
सुनसरीको बराह क्षेत्र नगरपालिका वडा नं ९ स्थित सप्तकोशी नदीको किनारमा शनिबार बिहान एक युवतीको शव फेला परेको हो । बराह क्षेत्र–९ को धरहरा टपन स्थित नदीमा अन्दाजी १८÷२० वर्ष उमेरको जस्तो देखिने मंगोलियन अनुहार भएकी युवतीको शव भेटिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । बेवारिसे फेला परेको सो शवलाई हाल धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको छ । शवको पहिचान हुन सके प्रहरीलाई खबर गर्न पनि अनुरोध गरेको छ ।