धनकुटाः जिल्ला प्रशासन कार्यालय धनकुटाले कोरोना संक्रमणको अवस्था स्थिर रहेपछि जारी गरिएको निषेधाज्ञा मंगलवारबाट हटाइएको छ ।जिल्ला संकट व्यवस्थापन समिति (डिसिसीएमसी) बसेको बैठकले सिमामा कडाइ गर्दै मंगलवारदेखि निषेधाज्ञा हटाउने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले बताए ।
बैठकले कोरोना भाइरसको भयाभह अवस्था रहेका जिल्लासँग जोडिएका नाकामा बाह्य आगमनलाई ठप्प पार्ने र सरकारले रोक लगाएका बाहेक व्यापार, व्यवसायलाई सुचारु गर्ने निर्णय पनि गरेको छ ।
प्रत्यक्ष रुपमा तराईका जिल्लासँग जोडिएका ठाउँबाट आउने सवारी तथा सर्वसाधरणको आवागमनलाई ठप्प पार्ने र अन्य मापदण्डअनुसार खोल्ने निर्णय भएको भएको सहायक प्रजिअ श्रेष्ठले बताए । कोरोना प्रभावको सुरुदेखिको अवस्थालाई समीक्षा गर्दै जोखिम रहेपनि परिस्थिति केही सहज बन्दै गएकाले सर्वसाधारणको दैनिकीलाई सहज बनाउन सुचारु गर्ने निर्णय गरेको हो ।
प्रशासनले धनकुटामा सरुवा भएर आएका २ जना प्रहरीमा साउन २८ गते संक्रमण देखिएपछि साउन २९ गतेदेखि भदौ ४ गतेसम्म धनकुटा नगरपालिकाका ६ वटा वडा निषेधाज्ञा जारी गरेको थियो । त्यस्तै गएको भदौ ३ गते सहिदभूमि गाउँपालिकाका स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपछि प्रशासनले उनको सम्पर्क व्यापक रुपमा रहेकाले समुदायस्तरमा नफैलिओस् भनेर भदौ ४ गतेबाट ११ गतेसम्म धनकुटा जिल्लाभर निषेधाज्ञा थप गरेको थियो ।
यता जिल्लामा कोरोना संक्रमितको कन्ट्याक्ट टे«सिङमा रहेकाहरुको पिसिआर परीक्षण गर्ने काम भईरहेकाले समुदायस्तरमा नफैलिओस् प्रशासनले पुनः भदौ १७ गतेसम्म निषेधाज्ञा थपेको थियो ।
निषेधाज्ञाको बीचमा भदौ १३ गते धनकुटामा एकै पटक १९ जनामा कोरोना संक्रमण देखिएको तथा सोही दिन धनकुटा आएका प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई समेत धनकुटाबाट विराटनगर फर्केलगत्तै कोरोना संक्रमण पुष्टि भएपछि स्थानीय प्रशासनले निषेधाज्ञा बढाएर भदौ २२ गतेसम्म लम्ब्याएको थियो । पटक–पटक समय थप गर्दै गरिएको निषेधाज्ञाका कारण अस्तव्यस्त बनेको जिल्लाको जनजीवन आजदेखि सामान्य बन्दै गएको छ ।