विराटनगरः विराटनगरमा टेलिफोनको तार चोरी गर्ने गिरोह अझै सक्रिय रहेको पाइएको छ ।
तार चोरीमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेपछि गिरोह अझै सक्रृय रहेको पाइएको हो ।
लामो समयदेखी टेलिफोनको तार चोरीमा संलग्न गिरोहका चार जना सदस्यलाई प्रहरीेले विराटनगर४ स्थित जामुनगाछीबाट सोमवार राती तार चोरी गर्दैगर्दा पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरु विराटनगर ६ का २१ बर्षीय विजय १८ बर्षीय राज , २१ बर्षीय रविन र१९ बर्षीय सुमित सहनी छन ।
विराटनगर महानगरपालिकाको विभिन्न स्थानहरुबाट लामो समयदेखी नेपाल टेलीकमले जडान गरेको टेलिफोनको तार चोरी हुदै आएको थियो । पछिल्लो पटक १असोजमा उजुरी परेपछि मोरङ प्रहरीले चोरहरु खोज्न थालेको थियो ।
खोजतलासकै क्रममा चार जना चोरहरुलाई सोमवार राती ८ बजे विराटनगर ४ जामुनगाछीबाट चोरी गर्दै गरेको १ सय ५० पेयरको २ सय २० मिटर केवल तार सहित पक्राउ गरेको मोरङ प्रहरी प्रबक्त्ता डिएसपी मानबहादुर राईले बताए ।
प्रहरीले चोरहरुले प्रयोग गर्ने को ९ प ४१५८ नम्बरको यमाहा मोटरसाईकल पनि नियन्त्रणमा लिएको छ ।
तामा बिक्रि गर्नकालागि चोरी गर्छन तार
नेपाल टेलिकमले प्रयोग गर्ने टेलिफोनको तारको भित्री भागमा महङो मुल्यमा बिक्रि हुने तामा धातु हुनेभएकोले चोरहरुले अबैध आम्दानीका लागि तार चोरी गर्ने गरेका छन । चोरहरुले चोरी गरेको तारबाट तामा निकालेर गोप्य रुपमा अबैध व्यापारीहरुलाई विक्रि गर्ने गर्दछन ।
तामा जडित तार निरन्तर चोरी भएकै कारण नेपाल टेलिकमले विराटनगरमा तार रहित अप्टिकल फाइवरको राउटर युक्त्त टेलिफोन वितरण गर्न थालेको छ ।