इटहरीः मोरङको विराटनगरस्थित रानी भन्सार क्षेत्रबाट भारतीय नागरिकलाई लुकीछिपी नेपाल प्रवेश गराएको आरोपमा प्रहरीले दुई जनालाई हिजो बुधबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा विराटनगर–१६ दक्षिण गेटका २८ वर्षीय विकास बस्नेत र ४६ वर्षीय शंकर दास रहेको सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट रानीका प्रहरी निरीक्षक मौसम पोखरेलले बताए । उनका अनुसार आरोपीहरुले व्यक्तिको क्षमता हेरी रकम असुल्ने गरेका छन् ।

नेपालका उद्योगमा काम गर्ने भारतीय मजदुर लुकीछिपी नेपाल प्रवेश गर्ने गरेको उनको भनाइ छ । पक्राउ परेका भारतीय नागरिकलाई भारतीय प्रहरीमा र नेपालीलाई इलाका प्रहरी कार्यालय रानीमा बुझाइएको उनले बताए । पक्राउ परेका आरोपीमाथि अभद्र व्यवहार मुद्दा चलाइने उनको भनाइ छ । कोरोना महामारी सुरु भएयता नेपाल भारत नाकाबाट भारतीय नागरिकको नेपाल प्रवेशमा सरकारले रोक लगाएको छ ।