इटहरीः कोरोना भाइरसको महामारी फैलिएसँगै सरकारले नेपाल–भारत सीमानाका बन्द गरेको भएपनि अवैध आवतजावत नरोकिएपछि प्रहरीले अवैध रुपमा प्रवेश गर्नेलाई क्वारेन्टाइनमा राख्न थालेको छ ।
प्रदेश १ मा सरकारले स्वीकृत गरेका सुनसरीको भन्टाबारी,मोरङको रानी,झापाको काकडभिट्टा र इलामको पशुपतिनगर नाकाबाट अनुमति लिएर आउनेबाहेक अन्यलाई दुई साता क्वारेन्टाइनमा राख्न थालिएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए ।
सीमावर्ति जिल्ला मोरङको ६३ किलोमिटर क्षेत्रमा रहेका ३६ ओटा नाकाबाट हुने अवैध आवतजावत नियन्त्रणका लागि प्रहरीले सक्रियता बढाएको उनले जानकारी दिए । दैनिक उपभोग्य वस्तु खरिदका लागि नेपालबाट मानिसहरु भारततर्फ जाने गरेका छन् । प्रजिअ निरौलाका अनुसार दुई सातापछि पीसीआर परिक्षण नेगेटिभ आएकालाई मात्र घर जाने अनुमति दिइने छ ।