इटहरीः भक्तपुरस्थित मध्यपुर थिमिबाट प्रहरीले एक महिलासहित पाँच जनालाई हिजो शुक्रबार साँझ पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका–१ बस्ने ३६ वर्षीय खेलबहादुर तामाङ र ३३ वर्षीय रेलबहादुर तामाङ,बाह्रबिसे–६ घर भई हाल भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ बस्ने ५६ वर्षीय श्यामबहादुर तामाङ, २५ वर्षीय रामकृष्ण तामाङ र ३२ वर्षीया कान्छी तामाङ रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दिपक गिरीले बताए ।

उनका अनुसार उनीहरुको साथबाट दुई लाख ४२ हजार ९३५ रुपैयाँ, विभिन्न कम्पनीका पाँच थान मोबाइल, दुई थान मोटरसाइकल र डलर भनी झुक्काउन तयार गरिएको कागजको दुई बन्डल बिटो बरामद भएको छ । प्रहरीका अनुसार उनीहरुले सस्तोमा डलर साटिदिने बहानामा विदेशी पर्यटक तथा वदेशिक रोजगारबााट फर्केका नेपालीलाई लुट्ने गरेका थिए । अभियुक्तहरुले गत भदौ ८ मा सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित रोज भिलेज नजिक काठमाडौंको धापासी बस्ने एक व्यक्तिलाई डलर देखाई पाँच लाख रुपैयाँ लुटपाट गरेको उजुरी परेपछि उनीहरु पक्राउ परेका थिए । पक्राउ परेकामध्ये लुटपाटमा संलग्नता पुष्टि नभएका तीन जना छुटेका छन् भने दुई जनालाई हिरासतमा राखी प्रहरी अन्य अभियुक्तको खोजीमा जुटेको छ ।