इटहरीः कोभिड–१९ कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सोको नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लामा हुने सबै प्रकारका जमघटजन्य गतिविधिमा रोक लगाएको छ ।

संक्रामक रोग ऐन–२०२० बमोजिम जिल्ला प्रशासनले जिल्लाभर शैक्षिक संस्था तथा परीक्षा सञ्चालन, सभा, गोष्ठी, सेमिनार, तालिम, प्रदर्शन, भेला, सम्मेलनजस्ता गतिविधिमा रोक लगाएको छ । साथै, जिल्ला प्रशासनले सिनेमा हल, पार्टि प्यालेस, डान्सबार, सैलुन, ब्युटिपार्लर, स्पा, स्विमिङ पुल, जिमखानाजस्ता सेवाको सञ्चालनसमेत निषेध गरेको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलकुदका साथै स्थानीय स्तरमा खेलिने सामूहिक खेल तथा मैदानमा गरिने सबै प्रकारका प्रस्तुतिसमेत हाललाई नहुने भएको र धार्मिकस्थल तथा पुस्तकालयमा समेत अर्को आदेश नभए सम्मका लागि मानिसको प्रवेशमा बन्देज लगाइएको सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रासाद पराजुलीले बताए । उनका अनुसार संघीय सरकारको मन्त्रिपरिषद्को गत भदौ २९ गतेको निर्णय अनुसार यो आदेश जारी गरिएको हो ।