इटहरीः मोरङको विराटनगर–१२ स्थित मंगलबारे बस्तीबाट मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थसहित तीन जनालाई प्रहरीले आज आइताबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही ठाउँका शान्ता आले, कृष्ण तामाङ र लक्ष्मी राई रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काले जानकारी दिए । उनका अनुसार उनीहरुका साथबाट करिब तीन टन कच्चा पदार्थका साथै भाँडावर्तन बरामद भएको छ ।
मदिराको अनाधिकृत उत्पादन हुने गरेको सूचना पाएपछि प्रहरी निरीक्षक कुन्दन देवको नेतृत्वमा खटिएको प्रहरी र वडा प्रहरी कार्यालय विराटनगर ‘क’ बाट गएको टोलीले बस्तीमा छापा मारी उनीहरुलाई पक्राउ गरेको उपरीक्षक खड्काले बताए । छापामारीका क्रममा मदिरा उत्पादनमा संलग्नहरु भगेपछि जनप्रतिनिधि बोलाई मदिरा जफत गरी आन्तरिक राजश्व कार्यालयमा बुझाएको भन्दै उनले अन्य आरोपीहरुको खोजी भइरहेको जानकारी दिए ।