इटहरीः मोरङको विराटनगर महानगरपालिका–८स्थित सुकुम्बासी बस्तीबाट प्रहरीले हिजो आइतबार बलात्कार प्रयासका दुई फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही ठाउँका २० वर्षीय मोहम्मद सहिद मियाँ र २५ वर्षीय मोहम्मद असलम मियाँ रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायबउपरीक्षक मानबहादुर राईले बताए । उनका अनुसार गत मंसिरमा ३३ र २२ वर्षीया महिलामाथि भएका बलात्कार प्रयासका घटनामा उनीहरुको संलग्नता रहेको थियो ।

चार जनाको संलग्नतामा घटना भएको बताउँदै नायबउपरीक्षक राईले घटनाका दुई अभियुक्तहरु हसरत मियाँ र फारुक मियाँ हालसम्म फरार रहेकोमा उनीहरुको खोजी भइरहेको बताए । पक्राउ परेका अभियुक्तहरुमाथि जबर्जस्ति करणी उद्योगअन्तर्गत मुद्दा चलाइने उनको भनाइ छ ।