इटहरीः  मोरङको उर्लाबारी नगरपालिका–७ मा होटल सञ्चालकको कुटाइबाट एक जना ग्राहकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारतको दार्जिलिङ घर भई विगत १० वर्षदेखि उर्लाबारीको सुनचाँदी पसलमा कालिगढको काम गर्ने ३५ वर्षीय शुशिल मल्लिक रहेको जिल्लाा प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काले बताए । उनका अनुसार गत आइतबार राति ११ः३० बजे युनिक होटलमा श्रीमतिसहित खाजा खान पुगेका उनलाई मदिरा मागेको निहुँमा होटल सञ्चालक संखुवासभा घर भई उर्लाबारी बस्ने २६ वर्षीय गोपाल तामाङले कुटपिट गरेका थिए ।

कुटपिटबाट टाउकोमा गम्भीर चोट लागेका उनको स्थानीय गोदावरी अस्पताल र झापाको बी एन्ड सी अस्पतालमा उपचार हुन नसकी भारतको सिलगुडी रिफर गरिएकोमा उपचारका क्रममा सोमबार राति उनको ज्यान गएको एसपी खड्काको भनाइ छ । प्रहरीले मृतकको शव नेपाल ल्याउने प्रकृया सुरु गर्नुका साथै घटनाका अभियुक्तलाई इलाका प्रहरी कार्यालय उर्लाबारीको हिरासतमा राखी कर्तव्य ज्यान मुद्दा चलाउने तयारी गरेको उपरीक्षक थापाले जानकारी दिए ।