इटहरीः मोरङको विराटनगर महानगरपालिका–१२ बाट प्रहरीले हिजो सोमबार साँझ एक जना वृद्ध पुरुषलाई अवैध लागूऔषधसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विराटनगर–१६ दरैया घर भएका ६१ वर्षीय राम मण्डल रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) मानबहादुर राईले बताएका छन् । उनका अनुसार अभियुक्तका साथबाट टि–सर्टको गोजीमा लुकाई राखेको अवस्थामा लागूऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले ५ ग्राम ७० मिलिग्राम प्रतिबन्धित खैरो हेरोइन (ब्राउन सुगर) बरामद गरेको छ ।
अभियुक्तले लागूऔषध भारतबाट ल्याएको हुनसक्ने प्रहरीको आशङ्का छ । अभियुक्तमाथि लागूऔषध नियन्त्रण ऐन–२०३५ अनुसार मुद्दा चलाइने नायबउपरीक्षक राईको भनाइ छ ।