इटहरीः सुनसरीको इटहरीस्थित इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायबउपरीक्षक (डीएसपी) अर्जुन केसीले होटलमा गैरकानूनी कार्य गर्ने व्यवसायीहरुलाई कुनै हालतमा नछोड्ने चेतावनी दिँदै इटहरी छोड्न आग्रह गरेका छन् ।

police

होटल व्यवसायको आडमा अवैध यौन व्यवसाय सञ्चालन गर्ने व्यवसायीहरुलाई उनले मर्यादित भएर व्यवसाय सञ्चालन गर्न आग्रह गरेका हुन् । होटल व्यवसायी संघ इटहरी र इलाका प्रहरी कार्यालयबीच आज मंगलबार भएको अन्तरक्रियाका क्रममा नायबउपरीक्षक केसीले होटलहरुमा बस्नेहरुको चुस्तदुरुस्त अभिलेख राख्न पनि व्यवसायीहरुसँग आग्रह गरे । अधिकांश होटलहरुमा ग्राहकहरुको परिचय खुल्ने विवरण नराखेको भन्दै उनले कानूनको पालनामा लापरबाही नगर्न आग्रह गरे ।

होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले होटलहरुमा अनैतिक काम नगर्न व्यवसायीहरुलाई आग्रह गरे । होटल व्यवसायीहरु मर्यादित भए मात्र व्यवसाय फस्टाउने उनको भनाइ थियो । उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिम पौडेलले व्यावसायिक नैतिकता कायम राखेर काम गर्न व्यवसायीलाई आग्रह गरे ।