इटहरीः झापाको भद्रपुर नगरपालिका–९ मा झट्का मेसिनको सहायताले जङ्गली हात्तीको मानव बस्तीमा प्रवेश रोक्न सुरु गरिएको छ।
चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिले स्थानीय निचाझोडा जङ्गलको वरिपरि छ किलोमिटर क्षेत्रमा विद्युतीय तारले घेराबेरा गरेको हो । विद्युतको ‘एसी’ प्रवाहलाई ‘डिसी’मा परिवर्तन गर्ने झट्का मेसिन भारतको गुजरातमा खरिद गरी ल्याइएको सामुदायिक वनका अध्यक्ष हिरा पोखरेलले बताए । उनका अनुसार प्रदेश नं १ सरकारको १४ लाख रूपैयाँ र सङ्घीय सांसद सुरेन्द्र कार्कीको पूर्वाधार विकास बजेटबाट प्राप्त २० लाख रूपैयाँ गरी ३४ लाखको लागतमा सामुदायिक वनले यो प्रविधि भित्र्याएको हो ।
झट्का मेसिनले पाँच भोल्टभन्दा कम शक्तिको ‘डिसी’ विद्युत् प्रवाह गरिदिने भएको हुँदा यसले हात्ती, मानिस र अन्य जनावरलाई तर्साउने गरी झट्का मात्र दिने पोखरेलले बताए । यसको करेन्ट लागेर मानिस र हात्तीको मृत्यु हुँदैन । हाल हाल चालु अवस्थामा रहेको घेराबााराको काम असोजभित्र सम्पन्न गर्ने लक्ष्य रहेको उनको भनाइ छ ।